काठमाडौं । माघ २२ गतेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी सडकमा उत्रिएका छन् ।
शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने माग गरेका छन् ।
उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द गरिनुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने जस्ता माग समेत गरेका छन् ।
आमहड्तालका क्रममा माघ २२ गते बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको थियो ।सो आगजनीमा संलग्नलाई हालसम्म प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन । त्यसैको विरोधमा शनिबार काठमाडौं उपत्यकाका ट्याक्सी चालक विभिन्न मागसहित सडकमा उत्रिएका छन् ।