
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेलमाथि कारवाही गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले ओलीलार्य साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ भने पौाडेललाई महासचिवबाट हटाएको छ । बैठकमा सो समुहका प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । बैठकले प्रस्ताव पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यसअघि माघ ११ गते प्रचण्ड–नेपाल समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिबाट पास भएको छ ।
त्यसैगरी माघ २ गते बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो ।
यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन । (नेकपा)को विवादबारे आयोगले पार्टी विभाजनको लागि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै मान्यता नदिने निर्णय गरेको थियो । आयोगको निर्णयले ओली समूहले गरेको केन्द्रीय समिति विस्तार र विधान संशोधनलाई पनि मान्यता दिएन ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै (नेकपा) विभाजना भएको थियो । तर विभाजनले औपचारिकता पाएको छैन । आयोगले आधिकारिकताको लागि दुबै पक्षले पेश गरेको प्रमाण अपुग भएको निर्णय गरेको थियो ।
प्रचण्ड–नेपाल समूहको आजको बैठकले आयोगलाई आधिकारिकताको लागि पत्र लेख्ने समेत निर्णय गरेको थियो । विवादबारे छलफल गर्न आयोगले दुबै समूहका अध्यक्षसहित प्रतिनिधिलाई बोलाएको थियो । ओली समूह छलफलमा सहभागी भएपनि प्रचण्ड–नेपाल समूहले भने माघ १८ गते भन्दा अगाडि उपस्थित हुन नसक्ने भन्दै पत्र लेखेको थियो ।