
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले राज्य व्यवस्थाको प्रतिगमनलाई अग्रगमनले मात्रै परास्त गर्न सक्ने बताएका छन् । संसदीय व्यवस्थामा देखिएको संकट प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत व्यक्त भएको भन्दै गजुरेलले संसद पुनःस्थापनाले अहिले प्रतिगमन नसच्चिन भन्दै अग्रगामी निकासको लागि छलफल गर्न तयार हुन राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।
आइतबार क्रान्तिकारी पत्रकार संगठनले ‘अहिलेको राजनीतिक संकटको कारण व्यवस्था की शासक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गजुरेलले प्रधानमन्त्री ओलीले संविधानमै नभएकै धारामा टेकेर संसद विघटन गरेको बताए । आफ्नै पार्टीका नेताहरुले अविश्वास प्रस्ताव पेश गर्ने भइसकेपछि प्रधानमन्त्री पद जोगाउन ओलीले जबरजस्तीको धारा बनाएर संसद विघटन गरेको गजुरेलको दाबी थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका गजुरेलले अहिलेकै अवस्थामा संसद पुनःस्थापना गरेर प्रधानमन्त्री ओलीको कदम पनि नसच्चिने र परिवर्तन पनि नहुने बताए । प्रचण्ड-नेपाल समूह र अन्य राजनीतिक पार्टीले गरिरहेको सडक संघर्षले ओलीकोप्रतिगामी कदम नसच्चिने बताउँदै गजुरेलले राजनीतिक पार्टीका नेताहरु शान्तिपूर्ण अग्रगामी निकासको लागि तयार भए आफूहरु छलफलमा बस्न सक्ने बताए ।
नेता गजुरेलले पुस पाँच गतेभन्दा अगाडि यही संसदबाट कायापलट हुने बताउँदै आएका नेताहरु नै अहिले आन्दोलन अपरिहार्य भएको भन्दै सडकमा आएको बताए ।
नेपालको राजनीतिक बाह्य शक्तिको हातमा गइसकेको बताउँदै प्रधानमन्त्री ओलीले चुनाव गर्न नसक्ने दाबी गरे । “यही संसद् र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा आएका छन् । अहिले भन्दैछन्, आन्दोलन विकल्प छैन, पाँच गतेभन्दा अगाडिसम्म यही संसद र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा छन्, अब नयाँ ढंगले नसोँचे उनीहरुको आन्दोलन टुंगोमा पुग्दैन” गजुरेलले भने ।
ओलीले आफू फेरि पनि प्रधानमन्त्री हुनलाई ताजा जनादेश भनेको बताउँदै अहिलेकै व्यवस्थामा जो आएपनि जनताका समस्या हल नहुने बताए । प्रचण्ड-नेपाल समूहको अहिलेको सडक संघर्ष पनि कुर्सीकै लागि मात्रै भएको भन्दै यसबाट जनतालाई कुनै फाइदा नहुने गजुरेलको दाबी गरे ।