
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले स्पष्टीकरण सोधेको पत्र प्रधानन्त्री केपी ओलीको हातमा पुगेको छ । सोमबार दिउँसो प्रचण्ड-नेपाल समूहका नेताहरुले बालुवाटार छोडेको पत्र साँझ ओलीको हात परेको हो ।
यसअघि प्रचण्ड-नेपाल समूहले ओलीले पार्टी अनुशासन विपरित गतिविधि गरेको भन्दै ‘थप कारवााही किन नगर्ने ?’ भन्ने प्रश्न सोधिएको पत्र सोमबार दिउँसो बालुवाटार पुर्याइएको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
ओलीलाई स्पष्टिकरण सोधिएको पत्र बोकेर स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसहित तीन नेता बालुवाटार पुगेका थिए । पत्रमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । पत्रमा (नेकपा) को पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेसँगै सत्तारुढ (नेकपा) विभाजन हुन पुगेको थियो । निर्वाचन आयोगले आधिकारिताबारे निर्णय नगरेका कारण औपचारिक विभाजन हुन बाँकी छ । तर, दुबै पक्षले आफू आधिकारिक भएको भन्दै देशभर कार्यक्रम जारी राखेका छन् ।
प्रचण्ड-नेपाल समूह अध्यक्षबाटा ओलीलाई हटाएर माधव कुमार नेपाललाई चयन गरिसकेको छ भने ओली समूहले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई मात्रै हटाएको छ ।
पार्टीको केन्द्रीय समितिमा प्रचण्ड-नेपाल समूहको बहुमत रहेको छ । ओलीले केन्द्रीय समिति बढाएर ११९९ बाट २ हजार बनाइसकेको छ ।