
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले अर्को समूहका अध्यक्ष केपी शर्मा ओली हास्दै मलामी जाने तर विहेमा जाँदा रुने नेता भएको बताएका छन् । प्रचण्डले ओली खुशी हुने बेला रुने र रुने बेला खुशी हुने गरेको भन्दै अहिले संविधानमाथि हमला गरेर निरंकुशताको षड्यन्त्र गरेर हाँसी रहेको बताए । उनले यो बयलगाडा सिद्धान्त भएको समेत बताए ।
प्रचण्डले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै ओलीमा मलामी जाँदा हास्ने प्रवृति भएकै कारण देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भइरहेको बताए । ओलीको षड्यन्त्रविरुद्ध आक्रामक आन्दोलनको आवश्यकता भएको समेत बताए ।
संसद विघटन गर्ने कदमले देशलाई निरंकुशतातिर धकेलेको बताउँदै प्रचण्डले त्यसविरुद्ध कार्यकर्तालाई आक्रामक आन्दोलन गर्न निर्देशन समेत दिए । उनले ओलीको प्रतिगामी कदमविरुद्ध बाघ र सिंह गर्जेजस्तो गरी आन्दोलनको आवश्यकता रहेको बेताए ।
प्रचण्डले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन अब आवेग, आक्रोश र आक्रामण हुनुपर्यो । बाघ र सिंह गर्जेको जस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीहरुको मुटु थर्किनुपर्यो, हल्लिनुपर्यो, ’ उनले भने,‘ रातदिन केही नभनेर हामी केही समय केपीको प्रतिगमनकारी कदमविरुद्ध सशक्त भएर खडा हुनुपर्छ । नत्र उनले टेर्नेवाला छैनन् ।’
प्रचण्डले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताउँलै जनआन्दोलनको बेला हिजो गिरिजा, माधव नेपाल र झलनाथ खनालले लाठी खाएजस्तै आफू लाठी खान तयार रहेको बताए । उनले आफ्नो टाउको चिलाइरहेको र प्रहरीको लाठी खान मन भएको समेत बताए ।
इतिहासको निर्माता जनता भएको बताउँदै प्रचण्डले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास भएको बताउँदै आफू बरु मर्न तयार तर ओलीको असंवैधानिक कदमविरुद्ध नझुक्ने बताए । जनताले राजा महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास रहेको समेत बताए ।
प्रचण्डले देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न नसकिने बताए । उनले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउन कार्यकर्तालाई निर्देशन दिँदै आफूहरु अन्तिमसम्मै नेतृत्व गर्न तयार रहेको बताएका थिए ।