आज :

संसद विघटनविरुद्धको आन्दोलनः कालो झण्डा ओलीलाई नभई उपेन्द्रलाई देखाउने तयारी

जनकपुरधाम ।  प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटन विरुद्ध देशभरी आन्दोलन् चलेको छ, मधेसमा पनि त्यसले गति लिइरहेको बेला जन समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्रयादवलाई उनकै पार्टीका युवा नेताले कालो झण्डा देखाउने चेतावनी दिएका छन् ।

कार्यक्रम तय गर्दा पार्टीभित्रको मर्यादाक्रमलाई ख्याल नगरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको हो । आज अर्थात माघ ३ गते सिराहामा हुने कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका कार्यकारिणी सदस्य रेणु यादवलाई बनाइएको छ भने चौथो वरियतामा सोही पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवलाई राखिएको छ ।

यहि विषयलाई लिएर जसपा नेपाल सिरहाका युवा नेता राजाराम यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गर्दै कार्यक्रममा वरियताक्रमको ख्याल नगरिएको गुनासो गरेका छन् । जिल्लाका एउटा संसद कार्यक्रममा सहभागी नहुँदा राम्रो सन्देश नजाने कुरा सनाएपछि जसपाका अध्यक्ष यादवले ‘के यो कार्यक्रममा सहभागी नभएर ओलीको कार्यक्रममा सहभागी हुने त ?’ भन्ने जवाफ दिएका छन् ।
दुईजना बीच भएको टेलिफोन संवाद प्राप्त भएको छ । संवादमा अध्यक्ष यादवले राजाराम यादवलाई कार्यक्रममा सहभागीका लागि पठाइएको नाममा कुनै वरियताक्रम नरहेको पनि स्पष्ट पारेका छन् । टेलिफोन संवादमा राजाराम यादवले राजकिशोर यादव कार्यक्रममा सहभागी नभए त्यसले राम्रो सन्देश नजाने पटक–पटक दोहोर्याएका छन् ।

यादवले चित्त बुझ्दो जवाफ नदिएपछि राजाराम यादवले ‘यो तरिकाले हुँदैन, डिक्टेटरसीपले पार्टी चल्दैन । तपाईं पार्टीको अध्यक्ष भए त के भयो तपाईको पनि विरोध हुन्छ,’ भनेका छन् । उनले यादवलाई पार्टीबाट नै कालो झण्डा देखाइने चेतावनी दिएका छन् । त्यसपछि उपेन्द्र यादवले ‘वकवास नगर्नुस् । पार्टीमा काम गर्नुछ भने गर्नुस्, नत्र भाग्नुस्’ भन्ने कडा जवाफ दिएका छन् ।

कार्यक्रममा अतिथिको चौथो वरियतामा राजकिशोर यादवलाई राख्दा उनी निकट नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका हुन् । प्रमुख अतिथिमा रेणु यादवलाई राखिएको छ भने दोस्रो वरियतामा कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई राखिएको छ भने तेस्रो वरियतामा कार्यकारिणी सदस्य एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवलाई राखिएको छ । यी तीनै जनामध्ये राजकिशोर यादव पार्टीमा वरिष्ठ हुन् । उनी तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य हुन् ।

राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर अहिले जनता समाजवादी पार्टी बनेको छ । एउटा पार्टीको नेतृत्व गरी सकेका व्यक्तिलाई अहिले सचेतरुपमा अपमानपूर्ण तरिकाले चौथो वरियतामा राखिएको जसपा नेपाल सिरहाका युवा नेता राजाराम यादवले आरोप लगाए । राजकिशोर यादव एउटा पार्टीका नेतृत्व गरिसकेको, सिरहाबाट प्रतिनिधिसभामा चुनाव जितेको तथा पूर्वसंघीय मन्त्री पनि हुन् । आफूभन्दा वरियतामा तल रहेका नेतालाई कार्यक्रममा सबैभन्दा माथि राखिएपछि यादव कार्यक्रममा सहभागी नहुने भएका छन् ।

यस विषयमा जसपा नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal