
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले पौडेललाई हटाउने निर्णय गरेको हो ।
पार्टी विभाजनसँगै महासचिव पौडेल ओली समूहतिर लागेको भएपनि प्रचण्ड-नेपालल समूहले अहिलेसम्म महासचिव कायमै राखेको थियो ।त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टिकरण सोध्ने निर्णय पनि स्थायी समिति बैठकले गरेको छ ।
यसअघि अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई चयन गरेको थियो । तर ओलीले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै ‘किन साधारण सदस्यबाट समेत नहटाउने ?’ भनेर स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ओलीको जवाफ चित्त नबुझे निस्काशन गर्ने एक नेताले बताए ।
त्यसैगरी बैठकले माघ १६ गते संसद् विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक भन्दै बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको बताइएको छ ।
आजको बैठकले प्रदेश नम्बर एकमा पाँच जना सहइन्चार्ज बनाउने निर्णय समेत गरेको छ भने अध्यक्षमा घनेन्द्र बस्नेत चयनगरेको छ । सहइन्चार्जहरुमा जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेसल खतिवडा र जगनाथ खतिवडा रहेका छन् ।
प्रचण्ड-नेपाल समूहले पार्टीको बहुमत आफूसँग भएको बताउँदै आधिकारिक भएको दाबी गरिरहेको छ । उसले निर्वाचन आयोगमा समेत आफू वैधानिक भएको दाबी पेश गरेको छ ।
प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै देशभर विरोधका कार्यक्रम जारी राखेको छ भने सर्वोच्च अदालतमा रिट दायर समेत गरेको छ । ओलीविरुद्ध सडक र अदालतबाट प्रतिवाद गर्ने प्रचण्ड-नेपाल समूहले बताउँदै आएको छ ।