
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी‘प्रतिरोध’ले संविधानलाई नै कुल्चेर संसद विघटन गरेको भन्दै पूर्व–राजा ज्ञानेन्द्र शाहको जस्तै हालत बनाउने चेतावनी दिएका छन् । शुक्रबार (नेकपा) प्रचण्ड–माधव समुहले हुम्लाका गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै प्रम केपी ओली नसुध्रिए सडकमा ल्याएर फाल्ने भन्दै सो चेतावनी दिएका हुन् ।
सो पार्टीका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले २०६२/०६३ मा राजा ज्ञानेन्द्रले जसरी जनताको जनमतको अवमुल्यन गर्दै तानाशाही प्रवृत्ति लिएर अगाडी बढे त्यही रुपमा प्रधानमन्त्री ओली बढेको आरोप लगाउँदै भने,“हरेक क्रियाको प्रतिक्रिया जरुर हुन्छ, ओली जीले विषको ब्यु रोप्नु भयो त्यो उम्रदैछ केही समयमा त्यसैले उहाँलाई सिद्याउँछ ।”
जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई पार्टी विभाजनको डिलमा पुग्नुको कारण बताउँदै त्यसको मुख्य दोषी नै प्रधानमन्त्री ओली रहेको बताउँदै भने,“संविधानमै संसद विघटनको प्रावधान छैन तर उहाँको हठले भंग गर्नुभएको छ, त्यो उल्टिन्छ र आफ्नो(प्रचण्ड–माधव समुह)ले नै वैधानीकता पाउँछौं, तपाइहरु ढुक्क हुनुहोस् ।”
इन्चार्ज भण्डारीले ओलीको यो पहिलो गल्ति नभएर देश र जनता विरोधी हर्कतहरुको चाङ् नै लगाएको बताउँदै, पछिल्लो असंवैधानिक रुपमा संसद विघटन अछम्य भएकोले आफुहरु आन्दोलनमा उत्रनु परेको र ओलीको दम्भ केही समय भित्र समाप्त पारेरै छाड्ने बताए । उनले ओलीको यो कदमलाई न्यायिक निकायले बदर गर्ने बिश्वास रहेको भन्दै यसको लागि नेता कार्यकर्ताहरु आफ्नो जीवनको बलिदान दिएर भए पनि लाग्नु पर्ने बताए ।
सिमकोट गाउँ कमिटीका अध्यक्ष ताक्ला जिक्मेत लामाको अध्यक्षतामा र केन्द्रीय सदस्य भण्डारीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य लोग बहादुर हमाल,जिल्लाका वरिष्ठ नेता कार्चेन लामा,प्रदेश समन्वय समितिका अध्यक्ष महेन्द्र बहादुर शाही, प्रदेश समन्वय समितिका सचिब तिर्थराज रोकाया र प्रदेश परिषद सदस्य दान बहादुर रावतले कार्यक्रममा प्रधानमन्त्री आलीको कदम असंवैधानिक भएकाले यसको विरोधमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।