
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य धमेन्द्र बाँस्तोलाको गिरफ्तारीविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले विहीबार विज्ञप्ति जारी गरेर गिरफ्तारको विरोध तथा भत्सर्ना गर्दै माघ १० गते नेपाल बन्दको घोषणा गरेका छन् ।
गिरफ्तारीविरुद्ध विप्लवले माघ ३ गतेदेखि संघर्षका कार्यक्रम घोषणा गर्दै नेपाल बन्दको घोषणा गरेका छन् । माघ ३ गते देशभर विरोध जुलुस, ५ गते देशभर विरोध सभा, ७ गते देशभर विरोध प्रदर्शन, ९ गते देशभर मशाल जुलुस र १० गते नेपाल बन्दको आह्वान विज्ञप्तिमा गरिएको छ ।
यस्तो छ विप्लवले जारी गरेको विज्ञप्ति
२०७७ साल पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ । सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भत्र्सना गर्दछौँ ।
जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।
हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्छौं । राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।
गिरफ्तारीविरुद्ध सङ्घर्षका कार्यक्रमहरू
२०७७ माघ ३ गतेः देशव्यापी विरोध जुलुस
२०७७ माघ ५ गतेः देशव्यापी विरोध सभा
२०७७ माघ ७ गतेः देशव्यापी विरोध प्रदर्शन
२०७७ माघ ९ गतेः देशव्यापी मशाल जुलुस
२०७७ माघ १० गतेः नेपाल बन्द