
काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुँदैछ । आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो । आइतबार विहान आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैठकले सो सिफारिस गरेको थियो ।
अहिले अधिवेशन जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । ओलीले सरकारले राम्रो काम गर्दागर्दै खुट्टा तान्ने र अवरोध गरेका कारण जनताले गरेको अपेक्षा पूरा गर्न नसकेकोले ताजा जनादेशको लागि निर्वाचन घोषणा गरिएको बताए ।
प्रधानमन्त्री ओलीले जनतामा जान डराएको भन्दै चुनावको तयारीमा लाग्न भनेका छन् । ओलीले कोरोना खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । त्यस्तै, कोरोनाविरुद्ध लड्न देशका सबै स्थानीय तहमा एकै दिन अस्पतालको उद्घाटन गरेर नयाँ रेकर्ड गरेको बताए ।
आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।