
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूह निकट अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । संसद विघटनको विरोधमा अनेरास्ववियूले बुधबार दिउँसो लालटिन जुलुस निकालेको हो ।
संसद विघटन असंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शनसहित लालटिन जुलुस निकालेका छन् । संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको अनेरास्ववियूले माइतीघर मण्डलाबाट जुलुस निकालेको थियो ।
वानेश्वर पुगेन कोणसभामा परिणत भएको जुलुसलाई पूर्वमन्त्री तथा (नेकपा) का नेता योगेश भट्टराईले सम्बोधन गरेका थिए । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए ।
काठमाडौं उपत्यकामा लालटिन बालेर जुलुस प्रदर्शन गरिए पनि काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा लालटिन, सिटी वा लाठी जुलुस निकालेर विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।
यसैबीच पार्टीको कार्यक्रममा सहभागी हुन जाजरकोट पुगेका खानेपानी मन्त्री मणी थापालाई विद्यार्थीले कालो झण्डा देखाएका छन् । प्रचण्ड-नेपाल समूहमा रहेका विद्यार्थीहरुले कालो झण्डा देखाउनुको साथै मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।