
धनगढी । नेपाली काँग्रेसका कार्यकर्ताहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला जलाएका छन् । काँग्रेस कार्यकर्ताहरुले दार्चुलामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चिनियाँ राष्ट्रपति सीको पुत्ला दहन गरिएको हो ।
मंगलबार साँझ दार्चुलाको सदरमुकाम खलंगामा नेपाली कांग्रेसको बिपी अध्ययन युवा सर्कल दार्चुलाले संसद विघटनको विरोधमा ओलीसँगै सीको दुत्ला दहन गरेको थियो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको, चीनको इसारामा प्रधानमन्त्री चलेको, भ्रष्टाचार, अनियमितता, अधिनायकवाद र सर्वसत्तावाद ल्याउन खोजेको र त्यसको लागि चिनियाँ राष्ट्रपति सीले सहयोग गरेकोले ओलीसँगै सीको पुत्ला जलाएको बिपी अध्ययन युवा सर्कल दार्चुलाका अध्यक्ष सुरज जोशीले बताए ।
चिनियाँ इसारा र सहयोगमा ओलीले संसद विघटन गरेको जोशीको आरोप छ । उनले संसद विघटन असंवैधानिक भएकोले आफूहरु सडकमा निस्किएको बताए ।
संसद विघटनविरुद्ध दोस्रो चरणका कार्यक्रम घोषणा गरेर नेपाली काँग्रेस सडक संघर्षमा निस्किएको छ ।
नेपालको आन्तरिक मामलालाई लिएर छिमेकी देशका राष्ट्राध्यक्षको पुत्ला जालाउन निन्दनीय भएको भन्दै विरोध पनि भइरहेको छ ।