
पोखरा । आजबाट गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । विशेष अधिवेशनको माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेका थिए ।
प्रदेशसभा सचिवालयका अनुसार विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने तयारी भएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउन विशेष अधिवेशनको माग गरिएपनि जनमोर्चाले सरकारलाई साथ दिएको छ ।
जनमोर्चाको समर्थनसँगै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास मत ल्याउनेबारे (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता र नेपाली काँग्रेसबीच छलफल भइरहेको छ । उनिहरुले राष्ट्रिय जनमोर्चासँग सरकार परिवर्तनबारे छलफल समेत गर्ने तयारी गरेका छन् । यदि जनमोर्चाले समर्थन फिर्ता नलिएमा मुख्यमन्त्री सुविधाजनक बहुमतमा रहनेछ । जनमोर्चाले समर्थन फिर्ता नलिए सरकार परिवर्तनको मुद्दा नउठ्ने बताइएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको बताए ।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २१ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् ।
गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् । तीमध्ये ओली पक्षमा २७ र प्रचण्ड-माधव नेपाल पक्षमा १२ जना छन् । त्यस्तै नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट हुन् ।