
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट सिद्धान्त आत्मसात नगरेको बताएका छन् । संसद विघटनविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली बलयगाडा सिद्धान्त बोकेको नेता भएको थाहा पाएर पनि आफूले पार्टी एकताको प्रस्ताव राखेको बताए ।
”सबैलाई थाहा भएकै कुरा केपी ओली कम्युनिस्ट सिद्धान्त बोकेको व्यक्ति होइन, उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो तर पनि मैले कम्युनिस्ट एकताको लागि प्रस्ताव गरेको हुँ” प्रचण्डले भने । प्रचण्डले आफूले ओलीको भनेको मान्दै गएर गल्ती गरेको बताए । पार्टी फुट्लाकी भनेर आफूले ओलीले भनेको मान्दै गएको सम्बोधनको क्रममा प्रचण्डले भने ।
प्रचण्डले ७० वर्षदेखि जनताको संघर्षबाट प्राप्त गरेका राजनीतिक उपलब्धीमाथि ओलीले प्रहार गरेको बताए । प्रचण्डले आफूले ओलीलाई बुझेर पनि पार्टी एकता गरेको बताउँदै भनेको सबै मानेर गल्ती गरेको भन्दै माफी समेत मागे ।
विरोध सभामा बोल्दै पूर्वराजा ज्ञानेन्द्र केपी ओली एउटै भएको आरोप लगाए । ओलीका कारण जनतालाई सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको बताए । ओलीले म्यानुपुलेसनमा विश्वास गर्ने गरेको र एकै दिन धेरै कार्ड खेल्ने गरेको बताए ।
त्यसैगरी वरिष्ठ नेता झलनाथ खनालले ओलीले भनेको पानी जहाज, घरघरमा ग्यास पाइप खै भन्दै प्रश्न गरे । ओलीले तानाशाही बाटोमा हिडेको भन्दै खनालले जनताले सजाय दिने बताए ।
(नेकपा)को प्रचण्ड-नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ । काठमाडौंमा दुई अध्यक्ष र वरिष्ठ नेताले सम्बोधन गरेका छन् भने देशका विभिन्न ठाउँमा भएका कार्यक्रमलाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।
काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट जुलुस निकालिएको थियो ।
टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका थिए ।