
काठमाडौं । संसद विघटविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय समितिले सार्वजनिक गरेको पूर्वनिर्धारित कार्यक्रमअनुसार राजधानी काठमाडौँसहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।
काठमाडौँमा ५० हजार कार्यकर्ता उतार्ने बताएको प्रचण्ड–नेपाल समूहले बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस निकाल्ने तयारी गरिरहेको छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शाल, रत्नपार्क, त्रिचन्द्र क्याम्पस अगाडि जुलुस तथा प्रदर्शनको तयारी भइरहेको प्रचण्ड नेपला समूहका नेताहरुले बताएका छन् ।
सबैतिरका जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सबै जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हिजो मात्रै नेपाली काँग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो । त्यस्तै, जनता समाजवादी पार्टी र नागरिक समाजले पनि संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।