
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग भेटवार्ता गरेका छन् । चार दिने नेपाल भ्रमणको लागि आइतबार काठमाडौँ पुगेको टोलीले सोमबार विहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको छ ।
त्यसलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले अर्का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र बीच भेटवार्ता भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछिको राजनीतिक अवस्था बुझ्न चिनियाँ शिर्ष नेताको टोली नेपाल आएको थियो । प्रचण्ड र नेपालसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देशबारे जानकारी गराएको बताइएको छ । सीले नेपाली भूमिमा हस्तक्षेप हुन सक्ने भन्दै चिन्ता र चाँसो व्यक्त गरेको बताइएको छ ।
स्रोतले बताएअनुसार सम्भव भए अझैंपनि प्रचण्ड र ओलीलाई मिल्न र मिल्न नसक्ने अवस्थामा सहकार्य गरेर अगाडि बढ्न राष्ट्रपति सीले सुझावसहितको सन्देश पठाएका छन् ।
आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।
त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ । नेपालमा राजनीतिक अस्थिरता आउन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गरेको छ ।