
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड-नेपाल समूहका तीनजना मन्त्रीले राजिनामा लगत्तै राईविरुद्ध अविश्वास दर्ता गरिएको हो । हिजो मात्रै मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।
आङ्बोलाई बर्खास्त गरेसँगै दुई समूहबीच विवाद सुरु भएको थियो । आज सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वासले राजिनामा दिएका थिए ।
प्रचण्ड-नेपाल समूहका ३७ सांसदहरुले भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको थियो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका थिए ।
त्यसैगरी प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास दर्ता गर्ने तयारी समेत गरेको छ । आफूविरुद्ध लागेको भन्दै राईले आङ्बोलाई बर्खस्त गरेलगत्तै प्रचण्ड-नेपला समूहले अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिइसकेका थिए ।
गृहमन्त्री रामबहादुर थापा निकट प्रदेश एकका नेता शावित्रीकुमार काफ्ले प्रचण्ड-नेपाल समूहतिर लागेसँगै प्रदेश सरकारमा संटक निम्तिएको नेताहरुले बताएका छन् ।
प्रदेश नम्बर १ मा ९३ सांसद छन् । जसमा (नेकपा)का ६७ सांसद छन् । जसमध्ये ४७ सांसद प्रचण्ड-नेपाल समूहतिर लागेको बताइएको छ तर अविश्वास प्रस्तावमा उनिहरुको हस्ताक्षर छैन ।