
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु शाह सहरी विकास, प्रेम आले वन तथा वातावरण, गणेशसिंह ठगुन्ना सामान्य प्रशासन, गौरीशंर चौधरी श्रम, दावा लामा युवा तथा खेलकुद, जुलीकुमारी महतो महिला तथा बालबालिका मन्त्री बनाइएको छ ।
त्यसैगरी विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई भने हटाइएको छ ।
त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई भने जिम्मेवारीबाट मुक्त गरिएको छ ।
मन्त्रीको जिम्मेवारी पाउनेमा पूर्वमाओवादी धेरै छन् । प्रचण्डलाई छोडेर ओलीतिर लागेका रायमाझी, थापा, चौधरी, शाह र लामा नयाँ मन्त्रीमा नियुक्त भएका छन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट रहेका थिए ।