
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोध नेता भएको बताएका छन् । संसद विघटन र आगामी संघर्षका कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका छन् ।
नेपालले पत्रकार सम्मेलनमा नेपालमा गणतन्त्र र संघीयता आउन सक्दैन भन्दै पूर्वएमालेमा फरक मत राखेको बताए । “केपीजी गणतन्त्र विरोधी हो, नेपालमा गणतन्त्र आउन सक्दैन भन्दै पूर्वएमालेमा फरक मत राखेको म र जेएन कमरेड साँची छौं । त्यस्तै केपीजी संघीयता विरोधी पनि हो । उहाँलाई गणतन्त्रप्रति कुनै मोह छैन, त्यसैले गणतन्त्र र संघीयतालाई धरापमा पार्ने खेलामा लाग्नुभएको छ” नेपालले भने ।
त्यसैगरी नेपालले ओलीलाई कम्युनिस्ट विरोधी नेता भएको समेत आरोप लगाए । “कम्युनिस्ट मूल्य सिद्धान्त, विचार भन्दापनि ‘केपीबा’ मन पर्छ, पार्टीमा दास र गुलाव गर्नेहरुलाई रोज्नुहुन्छ । बा प्रवृतिविरुद्ध नलडे कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ” नेपालले भने । उनले ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा राखेको आरोप समेत लगाउँदै अहिले कमजोर पार्ने अभियान सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।
संसद विघठनविरुद्ध प्रचण्ड नेपाल समूहले चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आज केन्द्रीय सदस्य र सांसदहरुले सर्वोच्च आदालत र निर्वाचन आयोगमा पुगेर दवाव दिएका छन् ।
अहिले सर्वोच्चको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई भइरहेको छ ।