आज :

एमसीसीको पक्षमा लाग्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने नेकपाको घोषणा, लिष्ट तयार गर्न निर्देशन

धनगढी । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ट कर्पोरेशन (एमसीसी) को पक्षमा लाग्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने घोषणा गरेको छ । नेकपाको सेती महाकाली ब्यूरोले एमसीसी सम्झौतालाई संसदबाट पारित गरेर राष्ट्रघात गर्ने खेल सुरु भएको भन्दै सो घोषणा गरेको हो ।

ब्यूरो इन्चार्ज निर्माणले विहीबार विज्ञप्ति जारी गरेर एमसीसीको पक्षमा लाग्ने सुदूरपश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने घोषणा गर्दै लिष्ट तयार गर्न जिल्लाहरुलाई निर्देशन समेत दिएका छन् । इन्चार्ज निर्माणले कालापानीमा देखा परेको सरकारको क्षणिक नक्कली राष्ट्रवाद एमसीसीमा पोखिएको बताए । सरकारले अमेरिकी सैन्य परियोजना एमसीसीलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटेर संसदबाट पास गर्न खोज्नु निन्दनीय र खेदजनक कार्य भएको बताए ।

“केपी ओली नेतृत्वको दलाल सामाजिक फासिवादी सरकारको गुलाम राष्ट्रवाद अहिले एमसिसिमा गएर पोखिएको छ । कालापानीमा देखापरेको क्षणिक नक्कली राष्ट्रवाद एमसीसीमा गएर घोप्टिएपछि दलाल केपी ओलीको गुलाम राष्ट्रवाद आम जनतामा उदाङ्गो भएको छ । आम देशभक्त जनताका भावना विपरीत केपी नेतृत्वको दलाल सरकारले राष्ट्रिय सार्वभौमिकताका बिरुद्धको अमेरिकी सैन्य परियोजना, एमसीसी (सहस्राब्दी आर्थिक लक्ष्य) सरकारको नीति तथा कार्यक्रममा ल्याएर संसदबाट पास गर्न खोज्नु निन्दनीय र खेदजनक कार्य हो । यो नाङ्गो राष्ट्रघात हो र जनमतको उपहास हो” विज्ञप्तिमा भनिएको छ । उनले पार्टी केन्द्रले घोषणा गरेको विरोधका कार्यक्रमलाई बल पुग्ने गरी ब्यूरो थप संघर्षका कार्यक्रम ल्याएको बताए ।

इन्चार्ज निर्माणले एमसीसीविरुद्ध घोषणा गरिएका संघर्षका कार्यक्रम ब्यूरोमा सफलतापूर्वक सिंगो पार्टी देशभक्त शक्तिलाई अपील समेत गरेका छन् । त्यसैगरी एमसीसीको पक्षमा बोल्न र लाग्ने सुदूरपश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद–मन्त्रीहरुको नाम सार्वजनिक गर्नुको साथै जिल्ला प्रवेश निषेध तथा बहिस्कार गर्न र जनताको साथमा जनकारवाही गर्न विज्ञप्तिमा जिल्लाहरुलाई निर्देशन दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “एमसीसीका पक्षमा लाग्ने र बोल्ने सेती–महाकालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा मन्त्रीहरुलाई जनकारबाही गर्ने घोषणा गर्दछौं । यसको लागि शुरुमा उनीहरुलाई सेती महाकाली प्रवेश निशेध तथा कार्यक्षेत्र बहिष्कार कार्यक्रम राखिने छ । यसको लागि सेती महाकालीका सबै जिल्ला पार्टी कमिटीहरुले त्यस्ता राष्ट्रघाती सांसद, मन्त्री तथा जनप्रतिनिधिहरुको लिस्ट तयार पारी सार्वजनिक गर्न र जनताको साथमा जनकारबाहीलाई अघि बढाउन निर्देशन गर्दछौं ।”

त्यसैगरी सुदूरपश्चिम सरकार र संसदलाई एमसिसिका बिरुद्ध खडा हुन समेत विज्ञप्तिमा अपील गर्दै एमसीसीको पक्षमा लाग्ने प्रदेश सांसद र मन्त्रीहरुलाई जनकारबाही गर्ने चेतावनी दिइएको छ । एमसीसीको बिपक्षीमा रहेका सेती महाकालीका सबै पार्टीभित्रका देशभक्त, बुद्धिजीवीहरु, संघसंगठनहरू, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, कानुन व्यवसायीसहित सम्पूर्ण जनतालाई संयुक्त संघर्षमा जुट्न इन्चार्ज निर्माणले अपील समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal