आज :

संकटलाई भ्रष्टाचारको अवसर बनाउनेहरु, तिमीहरुलाई पनि कोरोनाले छोड्ने छैन

अहिले कोरोना भाइरसले विश्वभरि नै महामारीको रुप लिएको छ, कोरोनाको कारणले देश नै लकडाउनमा रहेको छ । यस लकडाउनको समयमा घरमै बसेर विश्वलाई नै नियाल्ने मौका पाएको छु । कोरोना भाइरस; बिल्कुलै नयाँ किसिमको रोग हो यो । योभन्दा पहिले पनि धेरै किसिमका स्वाइनफ्लु, सार्स, बर्डफ्लुजस्ता रोगहरु विश्वमा महामारीकारुपमा आएको म स्वयमले अनुभुति गर्न पाएको थिएँ, जसले विश्वभर त्रास फैलिएको थियो । तर यी रोगहरुभन्दा बिल्कुलै भिन्न किसिमको रोग रहेछ यो कोभिड–१९ नामक कोरोना भाइरस ।‘न भूतो न भविष्य’ अर्थात चीनको हुपेई प्रान्तको वुहानमा डिसेम्बरको अन्त्यतिर सुरु हुँदाको समयले हिसाब गर्ने हो भनेपनि अब झण्डै ६ महिनासम्म पनि यो नियन्त्रण हुनुको सट्टा विश्वभर आक्रामकरुपले फैलिँदै गएको छ, मानव इतिहासमा कुनैपनि घातक रोगबाट यसरी लामो समयसम्म विश्व बन्दक भएको सायद पहिले कहिल्यै भएको थिएन । यो लकडाउन डायरी लेख्ने समयसम्म विश्वमा झण्डै ३ लाख ४० हजार मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५३ लाख नाघि सकेको छ ।

नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ भने तीन जनाको ज्यान गइसकेको छ । यसको संक्रमण विश्वका अति विकसित तथा स्वास्थ्य क्षेत्रमा निकै अब्बल मानिने देशहरुको तुलनामा हाम्रो देश नेपालमा निकै कम मानिसलाई संक्रमण हुनु र संक्रमणको गति पनि निसकै धिमा भनिएपनि पछिल्ला दिनमा तीब्र गतिमा बढ्ने संकेत देखिएका छन् । त्यसमाथि विश्व स्वस्थ्य संगठनले सुरुदेखि नै नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ, तर अहिलेसम्म मृत्युदर कम हुनु खुसीको कुरा मात्र नभई विश्वमा अचम्मको विषय बनेको हुनुपर्छ । चीन, अमेरीका तथा यूरोपीयन मुलुकजस्ता विश्वको शक्तिशाली तथा विज्ञान प्रविधिले सक्षम देशमा हजारौं–हजारको संख्यामा मानिसको ज्यान गइसकेको छ, दिन दुईगुणा रात चौ गुणाको दरले मानिसको अमन तथा चयनमाथि धावा बोलिरहेको छ कोरोनाले ।

अझै कहिलेसम्म यस्तो हुने हो कसैलाई थाहा छैन । सुरुसुरुमा हामीलाई ज्यादै डर लागे पनि नेपालमा निकै पछिसम्म पनि यसको संक्रमणले गति नलिएपछि नेपालीहरुमा त्रास घट्दै गएको थियो, अहिले भारतबाट मानिसहरु घर फर्केसँगै संक्रमण बढ्दै गएको छ । केही दिन अघिसम्म हामीले विभिन्न मानिसका आंंकलनहरु सुन्दै आएका थियौं कि नेपालको हावा–पानी, खान–पान, हाम्रो संस्कार त्यतिमात्रै होइन भगवान पशुपतिनाथको देश भएकोले यहाँ केही हुन्न । ती सबै गलत सावित हुँदै गएका छन् । अर्को कुरा, निको भएर घर फर्किने क्रम पनि जारी छ । बाँकेमा एक गरी ५० जना कोरोनासँग जितेर घर फर्केका छन् । आकलन र अनुमान भन्दापनि विज्ञानले पुष्टि गरेका कुरामा विश्वास गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको कोरोनाबारे दिएको सुझावको पालन गर्ने र जारी लकडाउनको पालन गर्नुको विकल्प छैन ।

हाम्रो देशको सरकार कोरोनासँग मुकाविला गर्नेतिर भन्दा ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै केही समय पहिलेबाटै सरकर जनताको सुरक्षाभन्दा आफ्नो कुर्सी बलियो बनाउन लाग्यो । तर अहिले पछिल्लो नेपालको गुमेको भूमि फिर्ता ल्याउने निर्णय वा कदमको स्वागत गरौं । प्रधानमन्त्री केपी ओली नेपाली इतिहास कै एक शक्तिशाली प्रधानमन्त्री पनि हुन् । नयाँ नक्सा जारी गर्ने भन्दा बाहेकका कोरोनासँग नागरिकलाई रक्षा गर्ने सवालमा विश्वास गुम्दै गएको छ । लकडाउन जारी गरे पुग्ने जस्तै गरेर सरकारले भारतबाट आउने नागरिकलाई सही तरिकाले व्यवस्थापन वा कोरोना वर्गिकरण गर्न नसक्दा पहाडको दूरदराजसम्म पनि कोरोना पुगिसकेको छ । यो फैलिने क्रममा रहेको विज्ञहरुले चेतावनी दिएका छन् । कोरोना व्यवस्थापन लथालिंग छ, राहत वितरण पनि त्यस्तै छ । तर प्रधानमन्त्रीबारे कुनै चाँसो र चिन्ता नै देखिँदैन । वरिपारी भ्रष्टाचारमा मुछिएका र अपहरणमा मुछिएकाहरुनै छन् । स्वास्थ्य सामग्री ल्याउने क्रममा कति ठूलो भ्रष्टाचार भयो र उनिहरुलाई बचाउन त्यत्तिकै नाटक मञ्चन भयो, यसरी मानव जीवनमाथिको ठूलो संकटलाई भ्रष्टाचार गर्ने सुनौलो अवसरमा परिणत गर्नेहरुलाई आम जनताले धारे हानिरहेका छन् । हुँदाहुँदा त कोरोनाको डर ताला लगाएर बसेका नीजि अस्पताललाई कोरोनाको नाममा व्यपार गर्न निर्णय सरकारले गरेको छ । यसबाट पनि स्पष्ट हुन्छ की सरकार नागरिकको स्वास्थ्यप्रति कति उत्तरदायी छ भन्ने कुरा ।

विश्वमा यस्ता संकटहरु भइरहने हुन्छ, त्यस्तै नेपालमा पनि यस्ता किसिमका संकटहरु भएको हामीले इतिहासमा पढ्दै आएका थियौं, जस्तै १९९०, २०४५ र २०७२ सालका भुकम्पहरु नेपालको निम्ति महाविपत्तिकारुपमा र देशले झेलेको थियो, तर २०७२ सालको भुकम्प र यो अहिलेको कोरोना संक्रमणलाई हामी आफैले नजिकबाट नियालीरहेका छौं । तिमीहरुको जीवन पनि अजम्बरी छैन, बरु तिमीहरुलाई पनि कोरोनाले कुरिरहेको छ ।

कोरोनाले अहिले जुन तरिकाले मानव जातिको उत्पति, विकास अनि यसले गरेको विज्ञान र प्रविधिको खोजमार्फत अन्य प्राणि र कतिपय अवस्थामा प्रकृतिमाथिको पनि अभूतपूर्व विजयलाई पनि कोरोना भाइरसको जटिल प्रकृतिले चुनौति दिएको छ । यस्तो किसिमको महासंकट सायद हलिउड तथा बलिउड सिनेमामा पनि सायद हेर्न पाइएको थिएन, जुन अकल्पनिय महासंकट हामीले भोगिरहेका छौं । अहिलेसम्म यसको औषधि तथा खोप वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । जसले गर्दा पनि यो भाइरसले मानिसमा ठुलो त्रास पैदा गरेको छ । यहि त्रासको बावजुद पनि मानिसको घर जाने क्रम रोकिएको छैन, किनभने मानिसलाई रोगको चिन्ता भन्दा काठमाडौं, नेपालगञ्ज, सुर्खेतजस्ता शहरहरुमा श्रमिकहरुको चुलो बल्न छोडिसकेको छ । सीमा क्षेत्रमा नेपालीहरु भोकै बस्न बाध्य भएको संचाररमाध्यमले प्रसारण गरिरहेका छन् । तर, सरकारले राहतको वितरणमा अरबको हिसाब देखाउँछ ।

यहि कोरोनाले आतंक मच्चाउनु अघि स्नातक तहको पढाई सकेर काम खोज्दै थिएँ । काम पाउलाजस्तो मात्र भाको थियो, साँझ समाचार सुनेँ भोलिदेखि लकडाउन । यो कुरा सुनेर म निकै दुखि भएँ, लाखौं खर्च गरेर यतिका वर्ष पढियो, अन्य धेरै सपनाहरु त्यागियो तर अब जागिर नै नपाउने भयो निकै चिन्तित भएँ । विश्वलाई नै यो संकटल भएकोले चित्त बुझाए । कोरोना संकटलाई अबसरको रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने सोचेँ । योभन्दा राम्रो समय मैले कहिल्यै पनि यसअघि पाएको थिइनँ, किनभने अहिले परिवारसँग राम्रोसँग समय बिताउने मौका पाएकी छु । यहि लकडाउनको समयमा मैले धेरै कुरा सिक्ने मौका पाएँ ।

मानिसहरु काममा मात्र धेरै व्यस्त भएर घरमा समय कम बिताउँथे । त्यसैले धेरै जसो मानिसले लकडाउनको समय भरपुररुपले सदुपयोग गरिरहेका छन् । यहि क्रममा नै मेरो मनमा चिन्ता पैदा भएको छ, लकडाउन पछि के बेरोजगार मानिसहरुको अवस्था के होला ? मनमा शंका उब्जनी भएको छ । अहिले त झन् के सुन्नमा आएको छ भने बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारी कटौटी गर्दैछन्, अब कुनै पनि नयाँ कर्मचारी भर्ना नखुल्ने भनेर समाचारहरुमा आइरहेको छ । यस्ता समाचारले पनि मानिसमा चिन्ता उत्पन्न भएको देखिन्छ । कोहि मानिसलाई लकडाउनले फाइदा गरेको छ, भने धेरैजसो मानिसलाई बेफाइदा गरेको छ । मानिस एक चञ्चल स्वभावको प्राणी हो । यहि स्वभावकै कारणले गर्दा एकै ठाउँमा बस्न सक्दैनन् । यदि बसेपनि कामको सिलसिलामा मात्र बस्छन् । यो लकडाउनको समयमा कति मानिसमा डिप्रेसनले नसताउला भन्न सकिने स्थिति छैन । विशेषगरि एसईई दिने विद्यार्थीलाई लकडाउनको नेगेटिभ असर परेको छ ।

यसरी विश्व महामारीकारुपमा चलिरहेको कोरोनाले नेपाली चर्चित गायक रामकृष्ण ढकालले गाएको गित ‘उडायो सपना सबै…’ भनेजस्तै मेरो राम्रो बैंकमा जागिर खाने सपना कोरोनाले चुडाएको छ, मजस्ता लाखौं लाख विद्यार्थी, श्रमिक, व्यापारी, उद्योगपति, होटल व्यवसायी, पर्यटन व्यवसायीको सपना उडाएको मात्रै छैन, अब हामी बाँच्ने हो की होइन भन्ने त्रासमा बाँचिरहेका होलान् ।

जे होस् हामीले जति जे भने गरे पनि आम तबरबाट कोरोना माहामारीसँग केही गर्न सक्ने अवस्था हुन्न । त्यसैले सम्बन्धित निकायले आफू र आफन्तको घेरा तोडेर मानवियताको रक्षार्थ भएपनि निःस्वार्थरुपले जिम्मेवार भएर कोरोना रोक थामका कार्यमा लागौं । आफू पनि बाँचौ, अरुलाई पनि बचाऔं । जन्मेको थियो मानिस मुट्ठी पारेर तर मर्दा जान्छ मुट्ठी खोलेर, लोभ र पापबाट मुक्त होआँै मानवियताको रक्षा गरौं, कोरोनालाई भ्रष्टाचार गर्ने अवसर नबनाऔं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal