काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक आज (बिहीबार) पनि जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखि रहेका छन् । गत आइतबारबाट सुरु भएको बैठकमा अधिकांश सदस्यहरुले आफ्नो भनाइ राखिसकेका छन् ।
यसअघि हिजोको बैठकमा विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा नेकपाका नेताहरुबीच चर्काचर्की भएको थियो ।
अधिकांश नेताहरुरुले एमसीसीसँग भएको परियोजनासम्बन्धी सम्झौतामा आफ्नो धारणा राखेका थिए । उनीहरुले सम्झौता संसदबाट अनुमोदन गर्न नहुने जिकिर गर्दै एमसीसी इन्डो-प्यासिफिक रणनीतिको अंग नभएको पुष्टि गर्न नेतृत्वलाई चुनौती दिएका छन् ।
परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले बैठकको सुरुतिरै एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको दाबी गरेका थिए ।