आज :

केन्द्रीय सदस्य दिपेश र सेक्रेटरी गिरफ्तारबारे नेकपाले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवन राई ‘दिपेश’ लाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य राईसँगै प्रहरीले उदयपुर जिल्ला सेक्रेटरीलाई पनि गिरफ्तार गरेको छ ।

पार्टीको सगरमाथा ब्यूरो विज्ञप्ति निकालेर गिरफ्तारको विरोध गर्दै दुबै नेतालाई गिरफ्तार गरी बेपत्ता बनाइएको बताएको छ । नेकपाले पार्टीको कामको सिलसिलमा उदयपुर कटारी नगरपालिकाको वडा नं. ७ रिस्कुबाट दुबै नेतालाई गिरफ्तार गरेको जनाएको छ ।

ब्यूरो इन्चार्ज अनुभव क्रान्तिले विज्ञप्ति जारी गरेर गिरफ्तार गरी बेपत्ता बनाइएको भन्दै आपत्तिजनाएका छन् । साथै, उनले नेता, कार्यकर्ता र समर्थक–शुभचिन्तकको घरमा प्रहरीले छापा मारेर आतंकित पारेको भन्दै घोर भत्र्सना गरेका छन् । उनले यस्ता कार्य तत्काल रोक्न माग समेत गरेका छन् ।

“हाम्रो पार्टीको साङ्गठनिक कामको सिलसिलामा खटिरहँदा मिति २०७६ पुस १ गते बिहान हाम्रो पार्टीका नेता कमरेड दीपेश र सगरमाथा ब्युरो सदस्य एवम् उदयपुर जिल्ला पार्टी सेक्रेटरी कमरेड सुरेन्द्र थापालाई उदयपुर कटारी नगरपालिकाको वडा नं. ७ रिस्कुबाट गैरन्यायिक तरिकाले गिरफ्तार गरी बेपत्ता बनाएको घटनाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनतालाई भ्रम छरेर विभिन्न बहानामा हाम्रो पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तक जनताको घर खानतलासी गरी आतङ्कित बनाउने कार्यले हाम्रो पार्टीलाई गम्भीर बनाएको छ । सरकारको उक्त रबैयाको सगरमाथा ब्युरो घोर भत्र्सना गर्दछ र जनतामा थोपरिएको श्वेतआतङ्क तत्काल बन्द गर्नसमेत अनुरोध गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

आफ्नो पार्टीले उठाएका जनपक्षिय एजेण्बाट सरकार आत्तिएर गिरफ्तार, हत्या, आतंकमा उत्रिएको भन्दै विज्ञप्तिमा भनिएको छ, “नेपालमा यतिबेला केपी–प्रचण्डको दलाल संसदीय व्यवस्थाले नेपाल र नेपाली जनताको सार्वभौमिकता र समृद्धिको बाधकका रूपमा अगुवाइ गरिरहेको छ । जनताको अग्रगामी शक्तिका रूपमा रहेको जनताको जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनपक्षीय एजेन्डाहरूसहित लडिरहेको सर्व्विदितै छ । जनपक्षीय एजेन्डाहरूबाट अत्तालिएको सामाजिक दलाल पुँजीवादी सत्ता गिरफ्तारी, धरपकड, हत्या–आतङ्क र बलात्कारसम्म पुगेर जनताको न्यायपूर्ण आवाजलाई बन्देज गर्ने दुस्साहस गरिरहेको छ ।”

इन्चार्ज अनुभवले देश र जनताको प्रगतिको बाधक आफ्नो पार्टी नभई दलाल पुँजीवादी व्यवस्था रहेको समेत बताएका छन् । आफ्ना पार्टीको लडाइँ दलालहरुसँग भएको समेत बताउँदै विज्ञप्तिमा भनिएको छ, “अहिले देश र जनताको प्रगतिको बाधक नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति नभई दलाल पुँजीवादी संसदीय व्यवस्था हो । अहिले जनता र हाम्रो लडाइँ तिनै दलालहरूसँग हो । दलालहरूको संरक्षण गरी आफ्नो वर्गका विरुद्ध नजान सम्पूर्ण सुरक्षा निकायका मित्रहरूलाई अपिल गर्दै बिनाकारण गैरन्यायिक गिरफ्तार गरेर बेपत्ता बनाइएका नेता–कार्यकर्ताहरूलाई सार्वजनिक गरी सम्पूर्ण बन्दीहरूलाई बिनासर्त रिहा गर्न अनुरोधका साथ देशलाई थप झडप र हिंसातिर जान नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मा लिन यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal