काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद झन् चर्कदै गएको छ । केन्द्रीय समिति बहिस्कार गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले विशेष भेला गरेका छन् । भेला तरूणको नाममा गरिएको छ ।
महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला डाकिएको हो । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।
कांग्रेसको युवा भातृ संगठन तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।
आन्तरिक विवादका कारण तरुण दल केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । २०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो ।
जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् । तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ ।
यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको तरुण नेताहरु बताउँछन् ।