काठमाडौं । भारतले नेपाल-भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान आज पनि रोक लगाएको छ ।
भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका भएर सवारीसाधन जान रोक लगाएको हो ।
आइतबार पनि कुनै सवारीसाधन प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार, नेपालबाट पैदल यात्रुलाई जान दिए पनि कुनै पनि सवारीसाधन जान दिएको छैन । उनले भारतबाट आउने सवारीसाधन भने निर्वाधरूपमा आउन दिएको बताए ।
मुद्दा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने साम्प्रदायिक दंगलाई मध्यनजर गरी भारत सरकारले नेपाल-भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरेको उनले बताए ।
भारत सरकारले दंगा भड्किन सक्ने आशंकाले सीमा नाकामा सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ । रुपैडिहामा सुरक्षाकर्मी परिचालन गरी समूहमा बस्नसमेत रोक लगाएको रुपैडिहाका पत्रकार सन्तोष शुक्लले जानकारी दिए ।
उनले सादा पोसाकमासमेत सुरक्षाकर्मी परिचालन भएको बताए । ’हुलहुज्जत हुन सक्ने आशंकामा सुरक्षाकर्मीले समूहमा बसेर कुरा गर्नसमेत दिएका छैनन् ।’