आज :

भोजपुरमा अक्षरहरूको साँझ’ साहित्यिक कार्यक्रम, छ कविको प्रस्तुति

  • अनलाइन डबली

निरोज कोइराला

भोजपुर । भोजपुरमा साहित्यिक गतिविधिलाई पुनः सक्रिय बनाउने उद्धेश्य सहित ‘अक्षरहरूको साँझ’ साहित्यिक कार्यक्रम सुरु भएको छ।

भोजपुर साहित्यिक मञ्चको आयोजनामा शनिबार भोजपुरस्थित चन्द्रमा होटलमा आयोजित कार्यक्रममा छ जना कविले आ–आफ्ना कविता प्रस्तुत गरेका छन्।

कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिताकी विजेता कविता राईसहित अमृका ताम्राकार, रक्तम राई, जीवन समीप, रोजिना कोइला विक र सोल्टी सुजनले आफ्ना सिर्जना वाचन गरेका थिए। कविहरूको प्रस्तुतिले कार्यक्रमलाई साहित्यिक र वैचारिक बहसको महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका संयोजक बलिराज खम्बुका अनुसार ‘अक्षरहरूको साँझ’ लाई मासिकरूपमा निरन्तरता दिइनेछ। कार्यक्रममा कविता तथा अन्य साहित्यिक सिर्जना वाचनसँगै साहित्यका माध्यमबाट समाज रूपान्तरण, इतिहास, पहिचान र समसामयिक सामाजिक विषयमा बहस तथा विमर्शसमेत सञ्चालन गरिनेछ।

कार्यक्रमको पहिलो शृङ्खलालाई पूर्वकुलपति भूपाल राई, प्राज्ञ राजन मुकारुङलगायत राष्ट्रिय स्तरका साहित्यिक व्यक्तित्वहरूले समेत चासो र प्रशंसाका साथ चर्चा गरेका छन्।

पूर्वकुलपति भूपाल राईले भोजपुरलाई माझकिरातको ऐतिहासिक भूमि मात्र नभई इतिहासमाथि निरन्तर प्रश्न उठाउने प्रतिपक्षीय विचारको स्रोतका रूपमा व्याख्या गरेका छन्। उनले नेपाली राजनीति, साहित्य र संस्कृतिको बहुआयामिक क्षेत्रमा भोजपुरको योगदानलाई बिर्सनु सम्पूर्ण इतिहासकै एउटा महत्त्वपूर्ण पाटो खण्डित हुनु भएको उल्लेख गरेका छन्।

उनले २००७ सालमा नारदमुनि थुलुङ र रामप्रसाद राईको नेतृत्वमा भोजपुरबाट सुरु भएको राणाशासनविरुद्धको अभियानले काठमाडौँ पूर्वका पहाडी क्षेत्रलाई मुक्त गराउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उक्त ऐतिहासिक योगदानले उचित स्थान पाउन नसकेको टिप्पणी गरेका छन्।

भूपाल राईका अनुसार यही राजनीतिक नवचेतनाको आलोकमा भोजपुरमा आधुनिक नेपाली साहित्यको विस्तारित क्षितिज खुलेको हो। गीत, संगीत र संस्कृतिको क्षेत्रमा पुनर्जागरण आएको तथा विभिन्न पुस्ताका साहित्यकारहरूले प्रतिरोधी स्वर, विचार, ऐतिहासिक उत्पीडन र पहिचानका मुद्दालाई साहित्यका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याएको उनको भनाइ छ।

पछिल्लो समय भोजपुरमा साहित्यिक गतिविधि केही सुस्ताएको र स्थानीय स्तरमा सिर्जनात्मक हलचल कम भएको अनुभूति भइरहेका बेला युवा पुस्ताले भोजपुर साहित्यिक मञ्च स्थापना गरेर कविताको अभियान सुरु गर्नु खुसीको विषय भएको उनले बताएका छन्।

‘अक्षरहरूको साँझ’ ले विगतमा देखिएका साहित्यिक रिक्तता पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले यो अभियान केवल भावनात्मक अभिव्यक्ति र स्वैरकल्पनामा सीमित नभई कवितामार्फत इतिहासको उत्खनन, अस्तित्व र पहिचानको बहस गर्ने अभियान बन्नुपर्ने धारणा राखेका छन्।

भोजपुरको ऐतिहासिक साहित्यिक विरासतलाई नयाँ पुस्तासँग जोड्दै सिर्जना, विमर्श र वैचारिक चेतनाको निरन्तरता दिने लक्ष्यसहित सुरु भएको ‘अक्षरहरूको साँझ’ ले जिल्लाको साहित्यिक गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal