आज :

मलेसियाका लागि राजदूत सिफारिस भएका खरेलमाथि उठेका आरोपबारे थप अध्ययन गरिने

  • अनलाइन डबली

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता तथा स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले विभिन्न आरोप उठाउँदै प्रश्न गरेपछि समितिले थप अध्ययन गर्ने भएको हो ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपाली श्रमिकको सुरक्षा, दूतावासबाट प्रवाह हुने सेवाको प्रभावकारिता र श्रमिकको हित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले मलेसियाका लागि नेपालको कूटनीतिक कार्ययोजना पूर्ण कार्यकाललाई समेट्ने गरी तयार पारेको उल्लेख गर्दै नेपाली नागरिकको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, छिटो सेवा प्रवाह गर्ने र आधुनिक दूतावास स्थापना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

खरेलले नेपाली श्रमिकलाई रोजगारीमा लैजाने मलेसियाली कम्पनीहरूबाट श्रमिक कल्याणसम्बन्धी लिखित प्रतिबद्धता गराउने योजना पनि प्रस्तुत गरे। श्रमिकको आवास, स्वास्थ्य बिमा र सामाजिक सुरक्षालाई अनिवार्य रूपमा लागू गराउने तथा श्रमिकसँग राम्रो व्यवहार गर्ने र राम्रो अभिलेख भएका कम्पनीका मागपत्र स्वीकृतिमा प्राथमिकता दिने व्यवस्था गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘मलेसियाका लागि नेपालको कूटनीतिक कार्ययोजना पूर्ण कार्यकालको रहेको छ। मुख्य कूटनीतिक दृष्टिकोण र लक्ष्य नेपाली नागरिकहरूको पूर्ण सुरक्षा गर्ने, द्रुत गतिमा सेवा प्रदान गर्ने र आधुनिक दूतावासको स्थापना गर्ने हो। नेपाली श्रमिक लिने मलेसियाली कम्पनीहरूलाई श्रमिक कल्याणसम्बन्धी लिखित प्रतिबद्धता गराउने। श्रमिकको बस्ने ठाउँ, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा अनिवार्य लागू गराउने। श्रमिकलाई राम्रो व्यवहार गर्ने र राम्रो रेकर्ड भएका कम्पनीहरूको मागपत्र स्वीकृतिमा प्राथमिकता दिने व्यवस्था गर्ने ।’

त्यस्तै, श्रमिक मलेसिया जानुअघि सम्बन्धित कम्पनीबारे पारदर्शी जानकारी उपलब्ध गराउने, होटल व्यवसाय, औद्योगिक उत्पादन, सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा दक्ष नेपाली श्रमिक पठाउने र उनीहरूको सीप तथा अनुभवको प्रमाणीकरण गरी दीर्घकालीन आम्दानी बढाउन सहयोग गर्ने योजना उनले सुनाए ।

उनले भने, ‘श्रमिक मलेसिया आउनुअगावै कम्पनीका बारेमा पारदर्शी जानकारी दिने व्यवस्था गर्ने। होटल व्यवसाय, औद्योगिक उत्पादन, सूचना प्रविधि र प्राविधिक क्षेत्रमा दक्ष नेपाली श्रमिकहरू पठाउने । श्रमिकको अनुभव र सीपको प्रमाणीकरण गराएर उनीहरूको दीर्घकालीन आम्दानी बढाउन मद्दत गर्ने । मलेसियाबाट प्राविधिक र व्यवस्थापकीय अनुभव लिएर फर्किएका नेपालीहरूको सञ्जाल बनाउने, फर्किएका श्रमिकहरूलाई नेपालकै स्थानीय उद्योग, व्यवसाय र प्राविधिक शिक्षालयहरूमा जोड्ने । श्रमिकले विदेशमा कमाएको पैसालाई नेपालका उत्पादनमूलक क्षेत्र र उद्यमशीलतामा लगानी गर्न प्रोत्साहन गर्ने ।’

मलेसियाबाट प्राविधिक तथा व्यवस्थापकीय अनुभव हासिल गरेर फर्किएका नेपालीको सञ्जाल निर्माण गर्ने, उनीहरूलाई नेपालका स्थानीय उद्योग, व्यवसाय तथा प्राविधिक शिक्षालयसँग जोड्ने र विदेशमा आर्जन गरेको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ ।

खरेलमाथि सांसद खत्रीका प्रश्न

कार्ययोजना प्रस्तुतिपछि रास्वपा सांसद राजीव खत्रीले खरेलमाथि आर्थिक लेनदेन, स्वार्थको द्वन्द्व र अनियमिततासम्बन्धी आरोपहरू उठाउँदै विभिन्न उजुरी प्राप्त भएको बताएका थिए ।

खत्रीका अनुसार झापाका केही स्थानीय व्यक्तिलाई अनुदान मिलाइदिने भन्दै लाखौँ रुपैयाँ लिएको, राजदूतमा नियुक्तिका लागि सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको र सामाजिक सञ्जालमा रकम लिएका व्यक्तिलाई ब्लक गर्ने गरेको आरोपसहित उजुरी प्राप्त भएका छन् ।

त्यस्तै, केही म्यानपावर कम्पनीसँग राजदूत बनेर काम गर्ने भन्दै रकम लिएको तथा ती कम्पनीले उपलब्ध गराएको गाडी प्रयोग गरेको भन्ने विवरण र गाडीको नम्बरसमेत उल्लेख गरेर उजुरी आएको उनले बताए ।

विभिन्न संघसंस्थामा काम गर्दा लाखौँ रुपैयाँ बेरुजु रहेको, पोखरामा जग्गा मिलाइदिने भन्दै करोडौँ रुपैयाँ लिएको तथा तराई–मधेस क्षेत्रका जग्गासम्बन्धी विषयमा समेत खरेलको नाम जोडिएको कागजातसहितका उजुरी प्राप्त भएको खत्रीको भनाइ थियो ।

उनले भने, ‘झापामा केहि स्थानीयसँग अनुदान मिलाइदिन्छु भनेर लाखौं रुपैया लिँएको , राजदूत नियुक्ति सिफारिस भए सङै लिएको पैसा तिर्न सुरु गरेको तिर्ने क्रम रहेको, सामाजिक संजाल पनि तपाईं धेरैवटा प्रयोग गर्ने, कतिपयलाई पैसा लिइसकेपछि ब्ल्याकलिस्टमा राख्ने ब्लक गर्ने गरेको भनेर प्रमाणसहितका उजुरी प्राप्त भएका छन् । केहि म्यानपावरसँग राजदूत भएर काम गर्छु भनेर केही रकम लिएको, केही मेनपावरले उपलब्ध गराएको गाडी चढेको गाडी नम्बरसहित आएको छ । विभिन्न संघ संस्थाहरूमा काम गर्दाको लाखौं रुपैयाँ बेरुजु रहेको, पोखरामा जग्गा मिलाइदिन्छु भनेर करोडौं रुपैयाँ लिएको भनेर कागजसहित प्राप्त भएका छन् । तराई मधेस एरियाका जग्गा सम्बन्धमा तपाईंका नाम प्राप्त भएका छन् । त्यसकारण उजुरी, अनियमितता, स्वार्थको द्धन्द्ध,आर्थिक लेनदेन लगायतको विषय जोडिएको हुँदा तपाईंलाई नेपाल सरकारले सिफारिस गरे पनि हामीले किन अनुमोदन गर्ने यसको जवाफ दिनुहोला ।’

खत्रीले आर्थिक लेनदेन, अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेको अवस्थामा खरेललाई राजदूतमा अनुमोदन गर्नुपर्ने आधारबारे स्पष्ट जवाफ मागेका थिए ।

आरोप अस्वीकार गर्दै खरेलले दिए जवाफ

आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै खरेलले आरोपहरूमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।

उनले भने, ‘यी जति पनि प्रश्नहरू उठे, यसमा मेरो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । बिना प्रमाण, बिना तथ्यका कुराहरूमा मैले त्यति जवाफ दिनुपर्ने नरहन सक्ने हो । तर उठिसकेपछि मैले गम्भीरतापूर्वक जवाफ दिनुपर्छ । मैले अहिलेसम्म कसैलाई पनि अनुदान मिलाइदिन्छु भनेर बोलेको छैन । कुनै पनि व्यक्तिबाट त्यसरी रकम लिएको पनि छैन ।’

पोखराको जग्गासम्बन्धी आरोपबारे स्पष्टीकरण दिँदै खरेलले त्यहाँको जग्गा आनामा नापिन्छ कि रोपनीमा भन्ने विषयमा समेत आफूलाई जानकारी नभएको बताए ।

खरेलले आफूमाथि लगाइएका आरोप अस्वीकार गरे पनि संसदीय सुनुवाइ समितिले थप अध्ययन गरेर मात्रै समिति समक्ष उपस्थित गराइने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal