काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो ।
बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ ।
चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ ।
त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइरहेको छ ।
त्रिशूली–३ ‘ए’ आयोजनामा टनेल हेड फेला परेको छ । टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने पानी निकाल्ने कार्य पनि जारी छ । तीनवटा एक्साभेटर प्रयोग गरी टनेलको पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ ।


अनलाइन डबली



