आज :

रसुवा बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

  • अनलाइन डबली

सुर्खेत । रसुवाको उत्तरी क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हुम्लाका १० जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा आठ पुरुष र दुई महिला रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीका अनुसार हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले बताए ।

खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका ३० वर्षीय जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन छन् । उमेश बोहोराकी श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन ।

त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ का ४१ वर्षीय नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन छन् । शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत रहेको प्रशासनले जनाएको छ ।

सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू सुरक्षित रहेको आशयको पोस्ट गरेका थिए । त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको उनले बताए ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले रसुवा बाढीमा सम्पर्कविहीन भएका नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको बताएका छन् ।

मुख्यमन्त्री शाहीले विपद्का समयमा प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोज तथा उद्धारलाई तीव्र बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal