लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले जनाएको छ । युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवा प्रवाहमा गम्भीर बाधा पुगिरहेको छ ।
अगस्ट-२ सम्ममा, १७ वर्ष वा सोभन्दा कम उमेरका बच्चामा ७४३ वटा सङ्क्रमणका घटना पुष्टि भएको जनाइएको छ । ती मध्ये ३३० जनाको मृत्यु भएको युनिसेफले एक विज्ञप्तिमार्फत जनाएको छ । हरेक चार जना मृत्यु हुने मध्ये एक जना बच्चा रहेको पुष्टि भएको छ । विशेष गरी पाँच वर्ष मुनिका स-साना बच्चा प्रभावित हुने गरेको जनाइएको छ ।
युनिसेफका अनुसार, प्रकोपले बाल्यकालको खोप, मातृ स्वास्थ्य सेवा र अन्य आवश्यक सेवामा पनि तीव्र गिरावट ल्याएको छ भने सङ्क्रमणको डर र स्वास्थ्य सुविधामा अवरोधले मानिसलाई आवश्यक स्वास्थ्य पहँुचबाट टाढा रहन बाध्य पारेको छ । इबोलाको प्रकोपले सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर बाधा पुर्याइरहेको उल्लेख गर्दै मलेरियालगायत अन्य उपचार गर्न सकिने रोगका कारण बालबालिकाको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु भएको युनिसेफका प्रतिनिधि जोन एग्बरले पुष्टि गर्नुभयो ।
विश्वव्यापी मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्सले बुधबार पूर्वी डीआरसीको अवस्था पहिलेभन्दा बढी गम्भीर भएको र नियन्त्रण हुने कुनै सङ्केत नभई चिन्ताजनक र अभूतपूर्व गतिमा फैलिएको चेतावनी दिएको थियो । मङ्गलबारसम्म, डीआरसीले मे १५ मा प्रकोप घोषणा भएदेखि एक हजार ८०१ जनाको मृत्यु भएको र तीन हजार ९७३ वटा सङ्क्रमणका घटना पुष्टि भएको रेकर्ड गरिएको जनाएको छ ।


अनलाइन डबली

