आज :

ताप्लेजुङमा खाना पकाउने ग्यास अभाव

  • अनलाइन डबली

ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । मागअनुसार ग्यास सिलिन्डर आपूर्ति हुन छोडेपछि ताप्लेजुङमा खाना पकाउने ग्यासको अभाव भएको हो ।

सदरमुकाम फुङ्लिङ बजारसहितका क्षेत्रमा खाना पकाउने ग्यासको अभाव भएको छ । उपभोक्ताका अनुसार पछिल्लो करिव एक सातायता जिल्लामा एलपी ग्यासको अभाव भएको छ । खाना पकाउने ग्यासको अभाव भएसँगै उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् ।

फुङ्लिङ बजार, सुकेटार बजार, दोभान बजार लगायतका क्षेत्रमा एलपी ग्यासको अभाव भएको छ । खाली सिलिन्डर साट्नलाई विक्री केन्द्रहरुमा सम्पर्क गर्दा ग्यास नभएको व्यापारीले बताउने गरेका फुङ्लिङ नगरपालिका–५ बुद्धचौकका स्थानीय उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो ।

भान्सा कोठामा ग्यास सकिएको हप्ता दिन बढी वित्दासमेत आफूले सिलिन्डर साट्न नपाएको लिम्बूले बताउनुभयो । अर्का उपभोक्ता ताम्लिङ शेर्पाले पनि बजारमा ग्यास पाउन छाडेपछि भान्सा कोठामा सीमित प्रयोग गर्न थालेको बताउनुभयो । अझै दुई÷चार दिन सम्ममा पनि आवश्यक ग्यास नपाएमा विकल्पको खोजी गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै शेर्पाले चिन्ता व्यक्त गर्नुभयो ।

यता ग्यास सिलिन्डर बिक्री गर्दै आएका व्यापारीहरुले मागअनुसार आपूर्ति नभएपछि बजारमा ग्यासको अभाव भएको बताएका छन् । ग्यास विक्री केन्द्र (डिलर) ले मागेको जति ग्यास उपलब्ध नगराएपछि अभाव खड्केको फुङ्लिङ बजारका व्यवसायी सुधीर सिग्देलले बताउनुभयो ।

फुङ्लिङ बजारका अर्का व्यवसायी नारायण थापाले पनि मागअनुसार ग्यास आपूर्ति नहुँदा बजारमा अभाव भएको बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका व्यवसायी थापाले बिहीबार ताप्लेजुङमा करिव ३०० वटा ग्यास सिलिन्डर झरेको र छिनभरमै उक्त ग्यास सकिएको जानकारी दिनुभयो ।

डिलरसँग ग्यासका लागि सम्पर्क भने निरन्तर भइरहेको स्थानीय व्यवसायीले बताएका छन् । पछिल्लो केही सातायता मागअनुसार जिल्लामा ग्यास आपूर्ति हुन छोडेपछि अभाव चुलिँदै गएको ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले बताउनुभयो । हप्ता दिन वा दुई हप्ताको अवधिमा सीमित सङ्ख्यामा ग्यास आपूर्ति हुने हुँदा उपभोक्ताको माग धान्ने स्थिति रहेको बाणिज्य सङ्घका अध्यक्ष गौतमको भनाइ छ ।

उहाँका अनुसार ताप्लेजुङमा सीमित सङ्ख्यामा आपूर्ति हुने ग्यास सम्भव भएसम्म सबै उपभोक्ताको अभाव टार्ने (परिपूर्ति गर्ने) गरी स्थानीय बिक्रेतामार्फत एक–एक वटा दरले ग्यास सिलिन्डर बिक्री गर्न थालिएको छ । पहुँचवालाका कारण सर्वसाधारण उपभोक्ताले ग्यास नै नपाउने अवस्थालाई दृष्टिगत गरी अभाव टार्न र चरम सङ्कट आउन नदिनगरी ग्यास बिक्री वितरणमा पहल हुँदै आएको गौतमले बताउनुभयो ।

ताप्लेजुङमा मेची र पाथीभरा कम्पनीको ग्यास बिक्री गर्ने गरिएको छ । सदरमुकामबाहिर दोभान, खाम्दिम लगायतको केही बजारमा कोशी र कन्काई ग्याससमेत बिक्री हुने गरेको स्थानीय व्यवसायीले बताएका छन् । अहिले ताप्लेजुङमा ग्यासको मूल्य भने पूरा भरिएको सिलिन्डरको प्रतिगोटा दुई हजार ५०० रुपियाँ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal