आज :

वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध

  • अनलाइन डबली

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।

यस्तै, मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षातका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलो भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, सो क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारी क्षेत्रमा माथिबाट पहिरो तथा लेदोसहित ढुंगा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, बागलुङको कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड उत्तरगया गाउँपालिका–१ गुम्चेत क्षेत्रमा पहिरो झरेपछि पूर्ण रूपमा बन्द भएको छ।

रोल्पाको रुकुम–घोराही सहिद मार्ग अन्तर्गत माडी गाउँपालिका–६ हार्निङ क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, खोटाङको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डको माम्खा क्षेत्रमा पहिरो खस्दा आवागमन पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, ताप्लेजुङको मेची राजमार्ग अन्तर्गत पाथीभरा याङवरक गाउँपालिका–१ खोक्से खोलानजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal