काठमाडौँ । भारी बर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। सबैभन्दा बढी प्रभावित कोशी र बागमती प्रदेश भएका छन् । यहाँका प्रमुख सडकहरु बाढी–पहिरोका कारण अवरुद्ध छन् ।
स्थानीय प्रशासनका अनुसार भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीस्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ६ माम्खास्थित मध्य पहाडी लोकमार्ग र उदयपुरको कटारी ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बागमती प्रदेशमा पनि बाढी र पहिरोले धेरै सडक प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिका ९ पिन्थलीमा पहिरो जाँदा बि.पि. राजमार्ग पूर्ण अवरुद्ध छ भने सम्भावित बाढीका कारण खुर्कोट(नेपालथोक(कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा–थिङ्गन––ललितपुर जोड्ने कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोका कारण अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालन रोकिएको छ।
यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ जिरोकिलो र वडा नम्बर २ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा पहिरो जाँदा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
धादिङको बेनीघाट रोराङ १० तिमराङखानीमा पहिरो हटाएर पृथ्वी लोक मार्ग एकतर्फी खुलाइए पनि जोवाङ खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको गोसाइँकुण्ड ६ बोकेझुन्डामा पहिरो गए पनि पासाङ ल्हामु सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा परेको छ । विभागले सैनामैना क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा मापन गरेको छ ।
त्यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको विभागले बताएको छ ।


अनलाइन डबली

