आज :

नेपाली सफ्टवेयर उद्योग प्रवद्र्धनका लागि खरिद निर्देशिका र छुट्टै इकाइको माग

  • अनलाइन डबली

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ ।

क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले प्रेसिडेन्सियल कलेजको सहकार्यमा काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजना गरेको ‘केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार ? नेपाली प्रविधि र रोजगारीको भविष्य’ विषयक नीतिगत अन्तरक्रियामा सहभागीहरूले सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सूचना प्रविधि उद्यमी, सफ्टवेयर विकासकर्ता, नीति निर्माता, शिक्षाविद्, स्टार्टअप प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

छलफलमा सरकारी निकायले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुको सट्टा नीति निर्माण, नियमन, साइबर सुरक्षा, साझा डिजिटल पूर्वाधार निर्माण र पारदर्शी सार्वजनिक खरिद प्रणाली विकासमा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।

सहभागीहरूले सरकारी सूचना प्रविधि खरिदलाई सामान्य खर्चका रूपमा मात्र नभई स्वदेशी प्रविधि उद्योगको क्षमता अभिवृद्धि, रोजगारी विस्तार र सफ्टवेयर निर्यात प्रवद्र्धनका लागि रणनीतिक लगानीका रूपमा लिनुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले नेपाली सफ्टवेयर उद्योगलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन अनुसन्धान तथा विकास, साइबर सुरक्षा मापदण्ड, सार्वजनिक–निजी साझेदारी र प्रविधि समाधानलाई प्रोत्साहन गर्ने एकीकृत नीति आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सफ्टवेयर उद्योगको दीर्घकालीन विकाससम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले स्वदेशी सफ्टवेयर उद्योगको दिगो विकासका लागि सफ्टवेयर खरिद निर्देशिका, सफ्टवेयर उत्पादन वित्तीय व्यवस्था तथा सफ्टवेयर स्टार्टअपलाई कर छुट जस्ता नीतिगत व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal