काठमाडौं । आज २ बजे राष्ट्रिय जेनजी नागरिक अभियानले आयल निगम घेराउ गर्ने भएको छ । यसअघि २४ घण्टे अल्टिमेटम दिएको अभियानले मूल्य समायोजन नगरेको भन्दै घेराउ गर्न लागेको संयोजक सुनिल सिंहले बताए ।
अभियानका अनुसार पछिल्ला डेढ महिनादेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनलगायत पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदै आएको छ ।
मूल्यवृद्धिका कारण आम नागरिकको जनजीवनमा गम्भीर असर परेको र संकटको समयमा सरकारले राहत तथा अनुदानमार्फत मूल्य नियन्त्रण गर्नुपर्ने भए पनि त्यसको विपरीत मूल्य बढाइरहनु दुःखद र आपत्तिजनक भएको अभियानको भनाइ छ। हाल नेपालमा इन्धनको मूल्य दक्षिण एसियामै महँगो भएको पनि अभियानले उल्लेख गरेको छ ।
उक्त विषयमा विरोध जनाउन आयल निगम कार्यालय परिसरमा प्लेकार्ड प्रदर्शन गर्दै निगमका प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको सह–संयोजक अजय सोडारीले बताए ।
कार्यक्रम २०८३ साल वैशाख ७ गते सोमबार दिउँसो २ बजे आयल निगम कार्यालय परिसरमा हुने जनाइएको छ ।
अभियानका प्रवक्ता विरजंग विश्वकर्मा, सह–संयोजक अजय सोडारी, संयोजक सुनिल सिंह तथा सचिव प्रकाश बमले संयुक्त रुपमा कार्यक्रममा सहभागिताका लागि अपिल गरेका छन् ।


अनलाइन डबली



