काठमाडौं । “डिम्ब व्यापार” प्रकरणसँग जोडिएको आरोपलाई लिएर महान्यायाधिवक्ता सबिता भण्डारी गम्भीर विवादमा तानिएकी छन्। उनीविरुद्ध किरण बिकले एकै दिन तीनवटा प्रमुख निकायमा निवेदन दर्ता गराएका छन् भने छानबिनसँगै पासपोर्ट रोक्का गर्नसमेत माग गरेका छन्।
बिकले चैत ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयमा छुट्टाछुट्टै निवेदन दिएका हुन्। अख्तियारमा दर्ता गरिएको निवेदनको नम्बर C-050701/2082-12-08, मानव अधिकार आयोगमा २२६९/२०८२-१२-०८ र गृह मन्त्रालयमा ६०५०/२०८२.१२.०८ रहेको छ।
निवेदनहरूमा “होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक” मार्फत अनैतिक तथा अवैध रूपमा डिम्ब (egg) व्यापार भएको, त्यसमा नाबालिकासहित किशोरीहरू संलग्न रहेको र सो विषयमा प्रहरी अनुसन्धानसमेत सुरु भएको उल्लेख गरिएको छ। उक्त क्लिनिकसँग सबिता भण्डारीको प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको दाबी गर्दै बिकले गम्भीर कानुनी र नैतिक प्रश्न उठाएका छन्।
महान्यायाधिवक्ता जस्तो संवैधानिक पदमा रहँदा सम्बन्धित मुद्दाहरूमा स्वार्थको द्वन्द्व, पदको दुरुपयोग तथा न्यायिक प्रक्रियामा प्रभाव पारिएको हुन सक्ने आशंका निवेदनमा व्यक्त गरिएको छ। केही मुद्दा फिर्ता वा रोकिएको भन्ने विषयसमेत सार्वजनिक बहसमा आएको उल्लेख गरिएको छ।
मानव अधिकार आयोगमा दिइएको निवेदनमार्फत बिकले मानवअधिकार उल्लंघन, न्यायिक निष्पक्षता र सुशासनमा असर परेको भन्दै स्वतन्त्र र गहिरो छानबिनको माग गरेका छन्। त्यस्तै, गृह मन्त्रालयमा उनले अनुसन्धान प्रभावित हुन नदिन निगरानी बढाउन तथा आवश्यक परेमा भण्डारीको पासपोर्ट रोक्का वा यात्रा प्रतिबन्ध लगाउन माग गरेका छन्।
बिकले यसअघि पनि भण्डारीविरुद्ध विभिन्न स्थानमा एकल विरोध प्रदर्शन गर्दै आएका थिए। उनका अनुसार “अमानवीय, अनैतिक र जघन्य प्रकृतिको अपराधमा संलग्न व्यक्ति खुलेआम हिँड्नु राज्य प्रणालीकै विफलता हो।”
यसैबीच, उनले जिल्ला प्रहरी कार्यालय भद्रकालीमा समेत निवेदन दिन खोज्दा क्षेत्राधिकार नपर्ने भन्दै दर्ता अस्वीकार गरिएको बताएका छन्।
अनैतिक तथा अवैध गतिविधिमा वकिल संलग्न रहेको आरोप लगाउँदै बिक नेपाल बार काउन्सिल, ज्वागलमा सबिता भण्डारीको कानुनी अभ्यासको लाइसेन्स खारेजको मागसहित पुगेका थिए। तर त्यहाँ लाइसेन्स नम्बर उल्लेख गरेर मात्र निवेदन दिन भनिएपछि, आवश्यक विवरण थपेर पुनः निवेदन दिने तयारीसहित फर्किएको उनले बताएका छन्।


अनलाइन डबली

