काठमाडौं । अमेरिका र इजरायलले संयुक्तरुपमा इरानमाथि हमला गरेको आज २५ औं दिन पूरा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वार्तामार्फत युद्धलाई रोक्ने उपाय खोजिरहेका छन् ।
ट्रम्पले एकतर्फी रुपमा पाँच दिने युद्धविराम गरेका छन् । उनले इरानी नेताहरुसँगको वार्ता सकारात्मक भएको बताउँदै पाँच दिनसम्म हमला रोक्न निर्देशन दिएको बताएका छन् ।
तर, ट्रम्पको दाबीलाई इरानले सिधै अस्वीकार गर्दै अहिलेकै अवस्थामा कसैसँग वार्ता नगर्ने बताउँदै युद्ध जारी रहेको बताएको छ । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान लिएको छ ।
ट्रम्पले नेताहरुसँग वार्ता भइरहेको भन्दै झुटो प्रचार गरेको बताउँदै इरानले संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने बताएको छ ।
ट्रम्पले इरानी नेताहरुसँगको वार्ता सकारात्मक भएको सार्वजनिकरुपमा बताएपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन् । उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन् ।
इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन् । मोहसेनको यो भनाईसँगै अमेरिका र इजरायलले झुट प्रचार गरिरहेको स्पष्ट भएको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि सम्झौतामार्फत आफ्ना कुरा राख्न सकिने अबसर आएको सार्वजनिकरुपमा बताएका छन् । ट्रम्प युद्ध रोक्ने पक्षमा भएपनि नेतान्याहूकै कारण युद्ध लम्बिएको इरानले पनि आरोप लगाएको छ । नेतान्याहूले पहिलोपटक वार्ताको कुरा गरेका हुन् ।
यसले के देखाउँछ भने अमेरिका र इजरायल युद्धबाट थाकिसकेका छन् भने इरान आफ्नो पुरानो अडानमा कायमै छ । उसले ‘युद्ध सुरु तिमिहरुले गर्यौं, अन्त्य हामी गर्छौं’ भनेको थियो । अहिले पनि यही दिशामा अग्रसर भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
हर्मुज जलमार्ग खुलाउन ट्रम्प असफल भएपछि ४८ घण्टे अल्टिमेटम दिएका थिए । तर, इरानले आफ्ना ऊर्जा केन्द्रमा हमला भए मध्यपूर्वमा रहेका अमेरिकी लगानीमा कल्पना नगरेको हमला गर्ने जवाफी चेतावनी दिएको थियो । त्यसको केही घण्टामै ट्रम्पले एकतर्फी पाँच दिन युद्धविरामको घोषणा गरेका थिए । उक्त जलमार्ग खुलाउन ट्रम्पले नेटो देशहरुसँग गुहार पनि गरे तर कोही तयार नभएपछि उक्त मार्ग आफूले प्रयोग नगर्ने र जसले प्रयोग गर्छ उसैले खुलाउनु पर्ने भन्दै पछि हट्न बाध्य भए ।
इरानसँगको युद्धमा अमेरिका र इजरायलले कल्पना नगरेको क्षति ब्यहोरिसकेका छन् । इन्धनको अभावले अमेरिकामै महंगी बढ्नुको साथै विरोध हुन थालेको छ । इरानले आफूसँग १० बर्षसम्म लड्न सक्ने शक्ति अझै बाँकी रहेको भन्दै सुरुको अडानमा टसमस छैन ।


अनलाइन डबली

