आज :

खण्डहर बन्यो पुरानो ठोसे बजार

  • अनलाइन डबली

रामेछाप । नेपालको पुरानो बजार मध्येको एक रामेछापको ठोसेको पुरानो बजार खण्डहरमा परिणत भएको छ । खिम्ति खोला किनारमा रहेको लेकाली भूभागमा अवस्थित ठोसे बजार नेवारहरूको पुरानो बजार हो । ठोसे फलाम खानीले बजार बनाएको ठोसेको पुरानो बजारलाई २०७२ सालको भूकम्पले निमिटान्य बनाइदिएको छ । स्थानीय बसाईँसराई गर्दै जाँदा खाली भएका पुरानो बजारका सबै घर भूकम्पले भत्काए पछि अहिले ठोसेको पुरानो बजार भग्नावशेषमा परिणत भएको छ ।
विक्रम संवत् १९२१ सालमा ठोस मेक्चनमा फलाम खानी सञ्चालन गरिएको थियो । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समयमा विसं १९२१ सालमा ठोसेको एकान फेदीमा मेगजिन अड्डा स्थापना गरिएको थियो ।
ठोसे आसपासका विभिन्न १८ वटा खानीबाट धाउ निकालेर पगाली त्यहाँ फलाम बनाइन्थ्यो । जहाँ दैनिक नौ नाल बन्दुकका साथै विभिन्न घरेलु हतियार र घरेलु प्रयोगका उपकरण बनाइन्थ्यो ।
सो अड्डा विसं १९५० सालमा एकान फेदीबाट ठोसेमा सारिएको थियो । त्यसपछि ठोस बजार फस्टाएको थियो । त्यस बेला सो अड्डाका प्रमुख डिट्ठा भक्तबहादुर कार्की ठोसे बजारकै थिए । त्यसैले एकानफेदीको अड्डा ठोसे सारिएको थियो ।
ठोसेमा फलामखानीको मुख्य अड्डा सञ्चालन भएपछि ठोसे मध्यपूर्वकै सबैभन्दा धेरै मानिसहरूको चल्ती हुने पहाडी बजार बनेको थियो । फलाम कारखाना र खानीमा काम गर्ने सयौँ मानिसहरू किनमेलको लागि ठोसे बजार आउँथे । जसले गर्दा बजारमा चहलपहल बढेको बढापाकाबाट सुनेको स्थानीय गौतम श्रेष्ठ बताउँछन् ।
सुरुमा बन्दुक बनाउन स्थापना गरिएको सो कारखानामा विसं १९६५ सालपछि बन्दुक बनाउन छाडियो । त्यसपछि सो कारखानाबाट घरेलु प्रयोगका सामान मात्र उत्पादन हुन लाग्यो । ठोसेमा कोदालो, कोदाली, हँसिया, गल, खुकुरी, घोडाको टाप, ताल्चा ओदान आदि बनाएर काठमाडौँको सुन्दरीजल पठाइन्थ्यो । त्यहाँबाट पास गरेर दरबार पठाइन्थ्यो ।
राज्यले चलाउन नसकेपछि विसं १९७३ सालमा ठोसे फलाम खानी ठेक्कामा लगाइयो । पूर्व ३ नम्बरका साङ्गे लामाले खानी ठेक्का लिए । उनले पनि खानी सञ्चालन गर्न सकेनन् । त्यसपछि पूर्व ३ नम्बरका छ्योङ तामाङले ठेक्का लिए । स्थानीयले उत्पादन गरेको फलाम यी ठेकदारहरूले १ रुपैयाँमा ६ धार्नी खरिद गरी रुपैँयाको ४ धार्नीका दरले बिक्री गर्दथे ।
विसं १९७७ सालमा बैदार फत्यबहादुरले नै फलाम खानी ठेक्का लिए । उनले सो खनी तीन वर्ष ठेक्कामा चलाए । विसं १९८० साल साउन १४ गते सरकारी तवरबाटै फलाम खानीको ठेक्का तोडियो । त्यसपछि स्थानीयले फलामको धाउ निकाल्ने र त्यसबाट उत्पादन गरेको फलामबाट सामान बनाउने काम थाले । सरकारी स्तरबाट फलामखानी बन्द भयो ।
२००७ सालमा कांग्रेसको जनमुक्ति सेना सो फलाम खानीमा ४ दिन बस्यो । फलाम खानीको छानो भत्काएर सेनाले ओछ्यान बनाए । २००७ साल माघ १९ गते मेगजिनका कागजपत्र कांग्रेसले कब्जा गर्यो र जलाइदियो । मेगजिनको काम बन्द भए पछि काम गर्ने मानिस पनि घट्दै गए ।
मेगजिनमा रहेका सरकारी सामानलाई पछिसम्म सुरक्षा दिएर राखिएको थियो । विसं २०२४ सालमा ती सामान कवाडीमा लिलाम गरियो । ठेकेदारले लान मिल्ने र लैजान सक्ने जति सामान लग्यो । नमिल्ने केही सामान त्यहीँ छाड्यो । जो अवशेषको रूपमा अहिले पनि छन् ।
फलाम खानी बन्द भएपछि सुस्ताएको ठोसे बजार विदेशी पर्यटकहरू दोलखाको जिरीबाट ठोसे हुँदै सगरमाथाको बेसक्याम्प हिँड्न लागेपछि फेरि फस्टायो । पछि चुचुरेको शिवालयमा झोलुङ्गे पुल बनेपछि पर्यटकहरू त्यही छोटो बाटो प्रयोग गरेर हिँड्न लागे । जसले गर्दा ठोसेको व्यापार व्यवसाय घट्यो ।
व्यापार हुन छाडेपछि ठोसमा व्यापार व्यवसाय गर्नेहरू अन्त सरे । स्थानीय पनि धेरै काठमाडौं तिर सरे । पुराना घर खालि हुँदै गए । खालि घर थोत्रिँदै गए । ती थोत्रिएका घर २०७२ सालको भूकम्पले सबैजसो ढले ।
पुरानो बजार खाली भए पनि पुरानो बजारभन्दा केही माथी नयाँ बजारमा भने पक्की घरहरु बन्ने क्रम सुरु भएको छ । ’तल्लो बजार त पुरै खालि भयो, यो माख्लो बजारमा भने भूकम्पले भत्काएको ठाउँमा नयँ घरहरु बन्दै छन्’, स्थानीय होटेल व्यवसायी समेत रहेका श्रेष्ठले भने ।
बजार उठ्ने प्रयासमा रहेको भए पनि व्यवसाय भन्ने ठप्प जस्तै रहेको श्रेष्ठले गुनासो गरे । सो क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके बजार पनि फष्टाउने उनको धारणा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal