काठमाडौँ । मुगुमा १५ बर्षपछि पक्राउ गरिएका हत्या आरोपलाई उन्मुक्ति दिन लागेको परिवारले आरोप लगाएका छन् । छायाँनाथ रारा नगरपालिका–२ का हरिकृष्ण शाहीको हत्यामा संलग्न परार प्रतिवादी पाँच जनालाई प्रहरीले १५ बर्षपछि पक्राउ गरेको थियो ।
मृतक शाहीका आमा पुनी शाहीले प्रहरीमा दिएको जाहेरीअनुसार २०६७ साल असार ४ गते सदरमुकामस्थित जिल्ला सरकारी वकिललको कार्यालयको उत्तरतर्फ रहेका एक होटलमा शाहीको सामुहिकरुपमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो । हरिकृष्णको शव असार ८ गते विभत्सरुपमा भेटिएको थियो ।
उक्त घटनाका फरार प्रतिवादीमध्ये ५ जनालाई प्रहरीले १५ बर्षपछि पक्राउ गरेको थियो । संगिता खड्काले संचालन गरेको उक्त होटलमा भएका हत्या प्रकरणमा जसु बोहोरा, पारसमणी मल्ल, शैलेन्द्र हितान, अक्कल रावत, चन्द्रप्रकाश शाही, जयन्द्र शाही, महेन्द्र भनिने रणबहादुर ऐडी, होटल संचालिका सरिता भन्ने सङ्गिता खड्काविरुद्ध किटानी जाहेरी परेको थियो ।
फरार प्रतिवादीमध्ये अझै महेन्द्र ऐडी र शैलेन्द्र हितान फरार छन् । पक्राउ गरिएकामध्ये जयन्द्रविक्रम शाही र अक्कल राउतलाई सुर्खेत सरकारी वकिलको कार्यालयले नाबालक भनेर हाजिरी जमानीमा रिहा गर्न लागेको पीडित परिवारको आरोप छ ।
‘घटना घटेको यतिका बर्षसम्म आरोपी खुलमखुला हिडिरहँदा पनि अनदेखा गर्ने अनि अहिले ३५ बर्ष पुगेकालाई नाबालक भनेर छोड्ने प्रयास भइरहेको छ । यसले हामीले न्याय नपाउने हो कि भन्ने शंका पैदा गरेको छ’ पीडित परिवारले भने । पीडित परिवारले पत्यक्षदर्शीले सबै जना मिलेर हत्या गरेको प्रहरीसमक्ष बयान दिँदा समेत दोषीलाई उम्काउन खोजेको आरोप लगाएका छन् ।
दोषीलाई उन्मुक्ति दिलाउन मुगुकै एक वकिल रातदिन लागिपरेको पीडित परिवारको आरोप छ । उनले पीडकसँग मोटो रकम खाएर घटनालाई अदालती प्रक्रियालाई प्रभावित गर्न लागेको बताउँदै पीडित परिवारले दोषीलाई कारवाही र पीडितलाई न्यायको लागि पहल गरिदिनहुन आग्रह गरेका छन् ।


अनलाइन डबली

