
काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् ।
यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैं सम्म खामेनीको मृत्युबारे पुष्टि वा खण्डन गरेका छैनन् । इरानी अधिकारकर्मी तथा पत्रकार माइस एलिनेजाडले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै “के म सपना देखिरहेकी छु ? नयाँ संसारलाई नमस्कार” भन्दै इरानभित्रै केही मानिसहरूले खुसीयाली मनाइरहेको दृश्य सार्वजनिक गरेकी छन् ।
अर्को स्वनिर्मित भिडियोमा उनले हरेक बिहान आफ्ना नागरिकहरू खामेनीका कारण मारिएको खबर पढ्दै उठ्ने गरेको उल्लेख गर्दै यसपटक भने “जीवनकै पहिलोपटक राम्रो खबर पाएँ” भन्दै खुसी व्यक्त गरेकी छन् । यसअघि निर्वासित इरानी युवराज रेजा पहलाभिले खामेनीको मृत्यु पछि इरानीहरूलाई एकजुट भई “स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमण” को समर्थन गर्न आह्वान गरेका थिए ।
उनले वर्तमान शासनले उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि प्रयास सुरुदेखि नै असफल हुने दाबी गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै पहलवीले खामेनीलाई “रक्तपिपासु शासक” को संज्ञा दिँदै उनको मृत्यु सँगै इस्लामिक गणतन्त्रको अन्त्य नजिकिएको टिप्पणी गरेका छन् ।
साथै, सेना, सुरक्षा निकाय र प्रहरीलाई जनताको पक्षमा उभिन आग्रह गर्दै पतनउन्मुख शासन जोगाउने प्रयास असफल हुने चेतावनी दिएका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै खामेनीको मृत्यु भएको दाबी गरेका छन् । उनले यसलाई “इरानका जनताका लागि मात्र नभई विश्वभर पीडित भएका मानिसहरूका लागि न्याय” भनेका छन् । ट्रम्पले इजरायलसँगको सहकार्यमा अत्याधुनिक गुप्तचर संयन्त्रमार्फत खामेनीलाई लक्षित गरिएको उल्लेख गर्दै मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म सघन तथा सटीक बमबारी जारी रहने चेतावनी दिएका छन् ।
तर इरानका आधिकारिक स्रोतहरूले खामेनीको अवस्थाबारे कुनै स्पष्ट जानकारी नदिएका कारण स्थिति अझै अन्योलपूर्ण बनेको छ । यदि मृत्यु पुष्टि भएमा शासनले उत्तराधिकारी नियुक्त गर्ने वा नगर्ने र यस घटनाले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यतर्फ लैजाने वा नलैजाने भन्ने प्रश्न अझै खुला नै रहेको छ । एएनआई


अनलाइन डबली


