आज :

रौतहटमा सुरक्षा व्यवस्था कडा, मतदान केन्द्रको स्थलगत निरीक्षण

  • अनलाइन डबली

—————

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी रौतहट जिल्लामा सुरक्षा रणनीतिलाई प्रभावकारी बनाइएको छ । निर्वाचनलाई मर्यादित, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा गराउने मुख्य उदेश्यका साथ नेपाली सेनाको परिचालनसँगै जिल्लाका सुरक्षा निकायहरूले आफ्नो सक्रियता बढाएका छन् ।

यसै सन्दर्भमा, आज बुधबार रौतहट क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न संवेदनशील तथा सामान्य मतदान केन्द्रहरूको संयुक्त सुरक्षा टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधवप्रसाद शर्माको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले क्षेत्र नं.४ का मतदान स्थलहरूको अवस्थाबारे जानकारी लिएको हो । टोलीमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ, सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व जीसी लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा सुरक्षा टोलीले मतदान स्थलको भौतिक पूर्वाधार, सुरक्षा चुनौती, प्रवेश तथा निकास मार्ग र सम्भावित जोखिमका सूचकहरूको सूक्ष्म विश्लेषण गरेको छ ।

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुरक्षा अधिकारीहरूले मतदान केन्द्रमा देखिएका सानातिना प्राविधिक तथा भौतिक कमजोरीहरूलाई तत्कालै समाधान गरिने बताएका छन् । ‘हाम्रो प्राथमिकता मतदाताले बिना कुनै डर मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नु हो,’ उपसचिव शर्माले भने, ‘त्यसका लागि मतदान केन्द्रहरूमा थप सुरक्षात्मक प्रबन्धहरू कडा बनाइनेछ ।’

निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, दबाब वा भयलाई निस्तेज पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच सशक्त समन्वय गरिने प्रतिबद्धता सुरक्षा संयन्त्रले जनाएको छ । रौतहटमा निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउनुका साथै मोबाइल गस्ती र रणनीतिक सुरक्षा तैनाथी समेत बढाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार निर्वाचनका लागि सम्पूर्ण तयारीहरू तीव्र गतिमा अगाडि बढेको छ । रौतहट क्षेत्र नं. ४ मा ६१ वटा मतदान स्थल र १ सय ३४ वटा मतदान केन्द्र तोकिएका छन् । कुल २ सय ७७ मतदान स्थल र ५ सय ४१ वटा मतदान केन्द्रहरू रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ ।

यी सबै केन्द्रहरूको सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा प्रशासनको योजना छ । स्थानीय प्रशासनले आम नागरिक तथा मतदाताहरूलाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न समेत अपिल गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal