काठमाडौँ । पौराणिक कथामा आधारित तीन सय ८४ वर्षदेखि चलेको ऐतिहाँसिक कार्तिक नाच आजदेखि सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए ।

*
यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कातिक १९ गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।
यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्याएको इतिहास रहेको छ ।
कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायका सबै जातीको समावेशी नाचका रूपमा पनि लिइन्छ ।
कार्तिक नाच संरक्षण समितिका संयोजक कलाकार सञ्जय शर्मा राजोपाध्यायका अनुसार यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको छ ।
मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको हो ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


