काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको हो ।
प्राधिकरणले यस अघि नै डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको थियो ।
यी उद्योगहरूले लामो समयदेखि बक्यौता रकम तिरेका छैनन् । प्राधिकरणका अनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ विद्युत महसुल तिर्न बाँकी छ ।
यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने प्राधिकरणले जनाएको छ ।
लोडसेडिङको समयमा यी उद्योगहरूले विशेष लाइनमार्फत विद्युत् प्रयोग गरे पनि तोकिएको अतिरिक्त शुल्क भने नबुझाएको प्राधिकरणको आरोप छ । तर उद्योगीहरुले प्राधिकरणले प्रस्तुत गरेको बक्यौता विवरणलाई असत्य र आधारहीन बताउँदै आएका छन् ।
प्राधिकरणले उद्योगहरूलाई पटक–पटक बुझाउने सूचना दिए पनि बक्यौता रकम नतिरेकाले अन्ततः आपूर्ति रोक्ने कदम चालिएको जनाएको छ ।
असुली अभियानलाई निरन्तरता दिँदै बाँकी रहेका अन्य उद्योगहरूमाथि पनि क्रमशः कारबाही अघि बढाइने प्राधिकरणको भनाइ छ ।
यस अगाडिका सम्बन्धित समाचार-
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
विद्युत बक्यौता केहि उद्योगीले भुक्तानी बुझाउन सुरु गर्दा, केहिले तिर्न बाँकी नरहेको पुरानै अडान