
जनकपुर । खडेरीको मारमा परेको मधेश प्रदेशमा राहतका रूपमा चालु आर्थिक वर्षको योजना ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले खानेपानी डिप बोरिङ्ग जडानबाट सुरु गरेको छ ।
मधेश प्रदेश सरकारका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–२ परशुराम तलाउस्थित मन्दिर क्षेत्रमा पहिलो चरणको खानेपानी डिप बोरिङ्ग जडान कार्य थालेको हो । साउने सोमवारी मेलामा आउने श्रद्धालुहरूलाई परेको खानेपानी अभाव समाधान गर्न सो कार्य सुरु गरिएको हो ।
बिहीबार एक विशेष कार्यक्रममा प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा मन्दिरका पुजारी राधामोहन दासद्वारा विधिपूर्वक पूजा गरि बोरिङ्ग कार्यको सुरुवात गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले खडेरीका कारण सिचाइ तथा खानेपानी दुवैमा गम्भीर समस्या उत्पन्न भएको भन्दै विभिन्न वडामा डिप बोरिङ्ग जडानको माग राखेका थिए ।
उनीहरूको पीडा सुन्दै मन्त्री यादवले भने, ‘संसाधन सीमित भए पनि आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी वडावडामा खानेपानी बोरिङ्ग जडान कार्य अघि बढाइएको छ ।’
गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन ।
मन्त्री यादवका अनुसार प्रदेश सरकारले तत्कालका लागि प्रत्येक वडामा डिप बोरिङ्ग जडान गर्ने योजना अघि सारेको छ । उनले भने, ‘खडेरीले सिचाइ मात्र होइन, खानेपानीमा समेत गम्भीर असर पारेको छ । त्यसैले अहिले प्राथमिकता खानेपानीमा दिइएको छ ।’