आज :

चक्रपथको कलंकी-चाबहिल सडकखण्ड विस्तारमा ढिलाइ: यात्रु, व्यवसायी र सवारी चालकहरू हैरान

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।

सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।

चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु मलिकाले भनिन् ‘सडकमा हिड्न एकदमै गाह्रो छ । मेन रोडबाट हिँड्न खोज्यो भने गाडीले ठोकिदेला कि भन्ने डर, छेउतिर हिँड्न खोज्दा धुलो र खाल्डाखुल्डीको जोखिम छ । एउटा गाडी पास भएपछि त्यस्तो धुलो उठ्छ कि हिँड्नै नसकिने हुन्छ ।’ उनले धुलोका कारण स्वास्थ्यमा असर परेको सुनाइन्, ‘धुलोका कारण एलर्जी हुन्छ, राति गएर एलर्जीको औषधि खानुपर्छ । अन्य सर्वसाधारण मानिसको स्वास्थ्यमा कति असर पुर्याइरहेको होला ।’

सरकारले चाँडै सडक निर्माण सम्पन्न गर्न समेत उनले अनुरोध गरिन् । ‘रोड भनेको जतिसक्दो छिटो बनाउनुपर्ने हो । हामी हिँड्ने बाटो ढिला बनाउँदा जनताले सास्ती भोग्नु परेको छ । राज्यले विकासमा हेलचेक्र्याइँ गर्नु हुँदैन,’ उनले भनिन् ।
१० वर्षदेखि ट्याक्सी चलाउँदै आएका बुद्धिबहादुर तामाङ सडकको अवस्थाबाट अत्यन्त असन्तुष्ट छन् । ‘थोरै परिवर्तन देखिए पनि अपेक्षाकृत सुधार भएको छैन । यस्तो खाल्डा–खुल्डी सडकमा गाडी चलाउँदा बारम्बार मर्मत गर्नुपर्छ’ उनले गुनासो गरे ।

तामाङ भन्छन्, ‘राज्यले समयमै सडक बनाए हामी सवारी चालकलाई राहत मिल्थ्यो । अहिले त गाडी बिग्रेको खर्च पनि थेग्न मुस्किल छ ।’
चक्रपथ क्षेत्रमा व्यापार गर्दै आएका गोपाल शाही नौं वर्षदेखि दैनिक सोही सडक प्रयोग गर्दै आइरहेका छन् । सडक बनाउने काममा राज्यले गरेको ढिलाइले व्यापारीलाई ठूलो असर परेको उनले सुनाए ।

उनका अनुसार धुलोका कारण स्वासप्रश्वासका समस्या बढेका छन् । ‘साझपख खोकी लाग्ने, छाति भारी हुनेजस्ता समस्या सामान्य जस्तै भएका छन् । जनताका लागि राम्रो सडक भए धेरै सजिलो हुन्थ्यो । राजधानीमै यस्तो अवस्था छ भने देशका अन्य ठाउँको अवस्था कस्तो होला ?’

विगत १४ वर्षदेखि सोही क्षेत्रमा व्यापार गर्दै आएका शिवराज पौडेल १० बर्षदेखि सडकको अवस्था उस्तै रहेको सुनाउँछन् । ‘म जबदेखि यहाँ आएँ, तबदेखि नै यो सडक विस्तारकै क्रममा थियो । यतिका वर्षसम्म पनि नबन्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।

उनले लामो समयसम्म सडक निर्माण नहुनुका कारण व्यापारमा असर परेको बताए । ‘धुलो, हिलोका कारण ग्राहकहरू घटेका छन् । पार्किङको समस्याले झनै व्यापार गर्न गाह्रो भएको छ,’ पौडेल भन्छन् ।

चक्रपथको दोस्रो खण्डमा भइरहेको सडक विस्तारको लामो ढिलाइले जनजीवनमा गहिरो असर पारेको छ । यात्रुहरू हिँड्न सक्दैनन्, सवारी चालकहरूका गाडी बिग्रन्छन्, व्यापारीहरूको व्यापार घटेको छ ।

राज्यको बेवास्ता र ढिलासुस्तीको चपेटामा परेको यो आयोजना राजधानीमा विकासको नाममा देखिएको चरम लापरवाहीको प्रतिक बनेको छ ।

यसरी चक्रपथ विस्तारको दोस्रो सडकखण्डमा वर्षसँगै घाँस उम्रिएर हरियाली हुँदै गएको छ । सडक विस्तारमा ढिला गरिँदा झारले सडक ढाकेको हो ।

चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।

चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेका हुन् । यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । तर सबै काम सकिए पनि सडक विस्तारको काम हुन सकेको छैन् । चीनको विभिन्न प्राविधिक टोलीले सडकको फिल्ड अध्ययन गरेपनि प्रक्रिया अगाडि नबढ्दा समस्या देखिएको हो ।

त्यस्तै सोही सडकको बाँकी काम अघि बढाउनेगरी ०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । तर आज ०८२ साउन महिनासम्म पनि काम अगाडि बढ्न सकेको छैन ।

– आकांक्षा धामी, नेपाल न्यूज बैंक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal