
काठमाडौँ । ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको भन्दै जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले सरकारको समिक्षा गर्दै समर्थन फिर्ता लिएको हो ।
जसपाले ११ बुँदामा सरकारको समिक्षा गरेको छ । जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको, भ्रष्टाचार, अनियमितता, दण्डहिनता, कमिसनतन्त्र र विचौलियाहरुको चलखेल नियन्त्रण गर्न नसकेको निष्कर्ष जसपाको छ ।
त्यसैगरी अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु, असन्तुलित र पूर्वाग्रहीत रूपले बजेट ल्याएको, संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगरेको, कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसकेको, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसकेको, समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसकेको संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ ।
त्यसैगरी मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगरेको, संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगरेको, कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधिका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध नगराएको र वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसकेको बैठकले निष्कर्ष निकालेको छ ।
ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले समर्थन फिर्ता लिएको र अब बिपक्षमा बस्ने निर्णय गरेको जसपाले जानकारी दिएको छ ।
योसँगै सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ ।