
काठमाडौँ । नेपालमा फेरि कोरोना भाइरस संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले २०८० वैशाख २१ गते पछि कोरोना सङ्क्रमणको कारण मृत्यु भएको यो पहिलो घटना हो । सोही मितिमा गण्डकी प्रदेशका एक ४७ वर्षीय पुरुषको मृत्यु भएयता कोरोना सङ्क्रमणबाटै मृत्यु भएको घटना रेकर्ड नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत इलामकी ४१ वर्षीय महिलाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ ।
झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
नेपालमा कोरोनाको नयाँ भेरिएन्ट आएपछि मृत्यु भएको पहिलो घटना पनि हो ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, झापा र इलाममा गरी ८ जनामा कोरोना पुष्टि भएको छ । झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको छ ।
कोरोनाबाट महिलाको मृत्युसँगै जनमानसमा पुनः त्रास फैलिएको छ ।