
काठमाडाैं।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले आज बुधबार पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो ।
पाण्डेले आफ्नो निलम्बनविरुद्ध मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए ।
निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन समेत अन्तरिम आदेश जारी भएको हो ।
यस्तो छ आदेशमा –
’महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो बमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिँदैन,’ , ‘सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाँचबुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्ने सम्मको अवस्था देखिएन ।’