
काठमाडौं । जिउँदै व्यक्तिहरुलाई इँटा भट्टामा जलाउने नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिइएको छ । जिल्ला अदालत रौतहटले उक्त काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
तर, आज उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ ।
पहिलो संविधान सभाको निर्वाचनको क्रममा २०६४ चैत्र २७ गते राति नेता आलमले रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतले दोषी ठहर भएका थिए ।
प्रहरीले घटनाको १२ वर्षपछि आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
संविधानसभा निर्वाचनमा बिस्फोट गर्ने उद्देश्यले शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा आलमले जलाएर हत्या गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।
बम बनाएको घटना सार्वजनिक हुने डरले घाइतेहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको थियो ।
उच्च अदालतले आलामलाई सफाइ दिएसँगै पीडित चिन्नित बनेको बताइएको छ ।