
काठमाडौँ । नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुह नेकपा माओवादी केन्द्रमा सामाहित भएको छ । आज ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समायोजन भएको हो ।
समाजनपछि श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी दिने र अरु सबै नेताहरुलाई उचित जिम्मेवारी दिइने पाँच बुँदे सहमतिमा उल्लेख गरिएको छ ।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुने सहमतिमा उल्लेख छ । त्यस्तै, नेपाली समाजवाद विशेषको समाजवादी क्रान्तिको कार्यक्रम हुनेछ ।
त्यसैगरी समाजवादी क्रान्तिका लागि अवस्था अनुसार सडक, सदन, सरकार लगायत सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र आपसी सहमतिको आधारमा तय गरिनेछ ।
सहमतिको चौथो बुँदामा पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीको एकरूपताको जनवादी केन्द्रीयता मान्यता अनुसार पार्टी सञ्चालन गरिनेछ । कतिपय सैद्धान्तिक विषय पार्टी महाधिवेशनसम्म छलफल गर्न सकिने उल्लेख छ ।
२०७२ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईसँगै श्रेष्ठले पनि माओवादी छोडेका थिए । पुनः १० बर्षपछि उनी माओवादीमै फर्र्किएका छन् ।
पार्टी एकतामा डा. बाबुराम भट्टराई नआउने पक्का भएपछि अर्का नेता महेन्द्र राय यादव र श्रेष्ठ मिलेर पार्टी पुनर्गठन गरेका थिए । यादवले पार्टीको नामको विषयमा सहमत नभएपछि श्रेष्ठले आफ्नो नेतृत्वमा बहुमत पार्टी माओवादी केन्द्रमा समाहित गरेका छन् ।